नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि जारी मतदान दोस्रो पटक थपिएको समयमा पनि सकिएको छैन । बिहानैदेखि सुरु भएको मतदान सुरुमा दिउँसो ३ बजेसम्मको समय तय भएको थियो । तर, निर्धारित समयमा नसकिने देखिएपछि दुई घण्टा थप्दै साँझ ५ बजेसम्मको समय निर्धारण गरिएको थियो । थपिएको समयमा पनि सम्भव भएन । त्यसपछि दोस्रो पटक दुई घण्टा थपेर अहिले राति ७ बजेसम्मका लागि निर्धारण गरिएको थियो ।
तर, दोस्रो पटक थपिएको ७ बजेको समय पनि घर्किसकेको छ । यद्यपि मतदान भने सकिएन । अझैं राष्ट्रिय सभागृह र खुलामञ्चमा गरी करिब ५०० प्रतिनिधिले मतदान गर्न बाँकी छ । निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले मतदानको निर्धारित समय सकिएपनि लाइनमा लागेका सबै प्रतिनिधिले मतदान गर्न पाउने जानकारी दिएका छन् । हालसम्म गण्डकी प्रदेशको मात्रै मतदान सकिएको छ । बाँकी ६ प्रदेश र जनसम्पर्क समितिका प्रतिनिधिहरूको मतदान भने अझैं जारी छ ।