कञ्चनपुरमा पेटभित्र लागूऔषध लुकाएर ओसारपसार गरेको आशङ्कामा नियन्त्रणमा लिइएका एक व्यक्तिको दिसाबाट १० ग्राम ४२० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भीमदत्त नगरपालिका–१८ का ३३ वर्षीय राज चौधरीलाई लागूऔषध ओसारपसार गरिरहेको सूचनाका आधारमा प्रहरीले नियन्त्रणमा लिएको थियो।
इलाका प्रहरी कार्यालय ब्रह्मदेव र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले उनलाई भीमदत्त नगरपालिका–९ स्थित जिरो पोइन्टबाट नियन्त्रणमा लिई महाकाली प्रादेशिक अस्पतालको निगरानीमा राखेको थियो।
प्रहरीका अनुसारआज बिहान दिसा गर्ने क्रममा कालो प्लास्टिकभित्र चार पुडियामा लुकाइएको खैरो हेरोइन फेला परेको हो। बरामद लागूऔषधको शुद्ध तौल १० ग्राम ४२० मिलिग्राम रहेको प्रहरीले जनाएको छ। बरामद लागूऔषधसहित घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले जानकारी दिएका छन्।