Wednesday, October 21

Latest Update :

सेतीको भेलसँगै हरायो यात्रा, बाँकी रह्यो पीडाको कथा

image

धनगढी,३ कात्तिक 

दसैँको टीका लगाउन घर पुग्ने हतारो, बाटो हेरेर बसेका आफन्त र कहिल्यै नफर्किने गरी अस्ताएका जीवन। तीन दशकअघि दसैँको मुखमा सेती नदीमा खसेको यात्रुबाहक बसको कहालीलाग्दो घटनाले जन्माएको डेउडा गीत आज पनि सुदूरपश्चिमवासीको मन भारी बनाउँछ। ‘भोलि छ दसैँको दिन काटु कटालैको सेरो’ बोलको यो गीतमा चाडपर्वको उमङ्गभन्दा बढी एउटा अधुरो यात्राको पीडा समेटिएको छ। २०५२ सालको दसैँको अघिल्लो दिन भएको सेती बस दुर्घटनाको सम्झना बोकेको यो गीत हरेक दसैँमा गुञ्जिन्छ र त्यो त्रासदीलाई फेरि ताजा बनाउँछ। त्यसबेला दसैँ मनाउन घर फर्किनेहरूको लर्को थियो। भारतबाट रोजगारी गरेर फर्किएकादेखि तराईबाट पहाड उक्लिने यात्रुसम्म सबैलाई परिवारसँग भेट्ने र दसैँको टीका लगाउने हतारो थियो। यही हतारोबीच कैलालीको अत्तरियाबाट यात्रुले खचाखच भरिएको रात्रिबस अछामका लागि छुट्यो। बसमा यात्रु मात्रै थिएनन्, दसैँ मनाउने सपना र परिवारसँगको भेटको उत्साह पनि थियो।

 

तर, त्यो यात्रा धेरैका लागि जीवनकै अन्तिम यात्रा बन्यो। त्यतिबेला भीमदत्त राजमार्ग पूर्ण रूपमा कालोपत्रे भइसकेको थिएन। डडेल्धुराको स्याउले बजार पुगेको बसमा डडेल्धुरा, बैतडी, बझाङ र दार्चुला जाने यात्रु ओर्लिए। बसमा डोटी र अछाम जाने यात्रु मात्रै बाँकी रहे। स्याउलेमा रात परिसकेकाले त्यहीँ बास बस्ने कि यात्रा जारी राख्ने भन्ने विषयमा यात्रुबीच मतभेद भयो। केही यात्रुले राति यात्रा गर्नुभन्दा त्यहीँ रोकिनु उचित हुने बताए। तर, भोलिपल्टै दसैँ भएकाले जसरी पनि घर पुग्नुपर्ने अडान राख्नेहरू पनि थिए। चालकले दीपायलमा पुगेर बस्ने भन्दै यात्रा अगाडि बढाए। स्याउलेबाट अगाडि बढेको बसमा यात्रु र चालकबीचको मनमुटाव बढ्दै गयो। राति करिब ९ बजे सेती नदी पुगेको बस नदीमा खस्यो। बससँगै कैयौँ यात्रु सेतीको भेलमा बिलाए। चालक भने फरार भए। दुर्घटनामा दुई दर्जनभन्दा बढीले ज्यान गुमाएको बताइए पनि मृतकको यकिन विवरण स्पष्ट छैन।

 

दुर्घटनाको पीडाबाट जन्मिएको गीत

 

दुर्घटनाका बेला साहित्यकार निर्मलकुमार भण्डारी डोटीको जोरायलमा थिए। घटनाको खबरले उनलाई गहिरो प्रभाव पार्‍यो। त्यसपछि उनले दुर्घटनाको पीडा र त्यसले समाजमा पारेको प्रभावलाई समेटेर डेउडा गीत लेखे। भण्डारीका अनुसार उक्त गीत रेडियो नेपालको ‘डेउडा गीतको सेरोफेरो’ कार्यक्रममा पठाइएको थियो। रेडियोलाई पत्रमार्फत पठाएको गीत केही समयपछि रेकर्ड भएर क्यासेटमा आएको उनी सम्झिन्छन्। गीतमा भोजराज भट्ट, मीना प्रसाईं र सविता भट्टको स्वर छ। दुर्घटनाको सम्झनालाई शब्द र सङ्गीतमार्फत जीवन्त बनाएको यो गीत त्यसयता दसैँसँगै जोडिएको छ। ‘भोलि छ दसैँको दिन‘’ का शब्दले घर फर्किने यात्रुको अधुरो सपना, आफन्तको प्रतीक्षा र चाडपर्वकै मुखमा उजाडिएका घरहरूको कथा सुनाउँछन्। त्यसैले यो गीत मनोरञ्जनको माध्यम मात्रै बनेन, एउटा कहालीलाग्दो इतिहास सम्झाउने सांस्कृतिक दस्तावेजसमेत बन्यो। तीन दशक बितिसक्दा पनि दसैँ आउँदा यो गीत गुञ्जिन्छ। गीतका शब्दसँगै सेती नदीमा बिलाएको त्यो यात्रा र घर फर्किने बाटो हेर्दाहेर्दै प्रतीक्षामै रहेका परिवारहरूको पीडा पनि सम्झनामा फर्किन्छ।