Monday, November 09

Latest Update :

धनगढीमा महिला उद्यम बजारको रौनक, किनमेलदेखि मनोरञ्जनसम्म धनगढी, २२ कात्तिक

image

धनगढी, २२ कात्तिक 

धनगढीमा हरेक शनिबार लाग्ने महिला उद्यम बजार व्यापारिक गतिविधिमा मात्रै सीमित छैन। महिला उद्यमशीलताको प्रवर्द्धनसँगै यो बजार बालबालिकाको खेल्ने, ज्येष्ठ नागरिकको रमाउने र विभिन्न समुदायका मानिसबीच सामाजिक तथा सांस्कृतिक सम्बन्ध जोड्ने साझा थलोसमेत बन्दै गएको छ। धनगढी उपमहानगरपालिकाले तीन वर्षदेखि जेन्जी मार्गमा महिला उद्यमीलाई निःशुल्क स्थान उपलब्ध गराएर शनिबारीय महिला उद्यम बजार सञ्चालन गर्दै आएको छ। जहाँ महिलाहरूले आफ्नै सीप र मेहनतबाट उत्पादन गरेका सामग्री तथा विभिन्न परम्परागत परिकार बिक्रीका लागि राख्ने गरेका छन्।

 

 

 

विभिन्न समुदायका मौलिक खानाका परिकार, हस्तकलाका सामग्री र घरेलु उत्पादनले बजारमा आउने उपभोक्तालाई आकर्षित गर्ने गरेका छन्। कोही नयाँ परिकारको स्वाद लिन पुग्छन् त कोही आवश्यक सामग्री खरिद गर्न। पछिल्लो समय भने बजारको आकर्षण व्यापारिक गतिविधिभन्दा बाहिर पनि विस्तार हुँदै गएको छ। बालबालिकाका लागि खेलकुद तथा मनोरञ्जनका गतिविधि सञ्चालन हुन थालेपछि अभिभावकसँगै उनीहरूको उपस्थिति बढेको छ। त्यस्तै, देउडा, भजनलगायत मौलिक सांस्कृतिक गतिविधिले ज्येष्ठ नागरिकलाई पनि बजारसम्म तान्ने गरेको छ।

 

 

धनगढीका लोकराज भट्ट फुर्सदको समयमा आफ्ना बालबालिकालाई लिएर उद्यम बजार पुग्ने गर्छन्। पढाइसँगै बालबालिकालाई मनोरञ्जन र खेलकुदमा सहभागी गराउन बजार ल्याउने गरेको उनी बताउँछन्। यस्ता गतिविधिले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा सकारात्मक प्रभाव पार्ने उनको विश्वास छ। त्यस्तै, धनगढीको फूलबारीका पदम बराल पनि आफ्ना बालबालिकालाई उद्यम बजारको गतिविधि देखाउन पुगेका छन्। उपमहानगरपालिकाले निःशुल्क उपलब्ध गराएका खेल सामग्रीमा बालबालिका रमाइरहेको देख्दा आफू खुसी भएको उनी बताउँछन्। धनगढीको जाईंबाट आएका ज्येष्ठ नागरिक परमानन्द ओझाको आकर्षण भने देउडा र भजनलगायत सांस्कृतिक गतिविधिमा छ। देउडा तथा भजन हुने जानकारी पाएपछि बजार पुगेका उनी मौलिक संस्कृति संरक्षणसँगै विभिन्न समुदायका खानपान र रहनसहनबारे जानकारी लिन पनि रुचि राख्छन्।

 

महिलालाई आफ्ना सीप, कला र प्रतिभा प्रदर्शन गर्दै आर्थिक उपार्जन गर्ने अवसर प्रदान गर्ने उद्देश्यले सुरु भएको उद्यम बजारले उनीहरूलाई स्वरोजगार र आत्मनिर्भर बन्न सहयोग पुर्‍याएको छ। तीन वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको बजारले महिला उद्यमीलाई आफ्ना उत्पादनको बजारीकरण र व्यावसायिक कारोबार विस्तार गर्ने अवसरसमेत दिएको छ।

 

Latest Update