कैलालीको गोदावरी नगरपालिकामा पैदलयात्रीलाई मोटरसाइकलले ठक्कर दिएर फरार भएका चालक २१ दिनपछि काठमाडौंमा पक्राउ परेका छन्।पक्राउ पर्नेमा कैलालीको चुरे गाउँपालिका–६ का १९ वर्षीय प्रदीप बैजालीमगर रहेका छन्। उनलाई प्रहरीले काठमाडौंको स्वयम्भूबाट पक्राउ गरेको हो। गत कात्तिक १ गते साँझ गोदावरी नगरपालिका–८ स्याउलेस्थित खुटिया पुल नजिकै मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएको थियो। खुटियाबाट स्याउलेतर्फ आउँदै गरेको टरसाइकलले स्थानीय तारा धामीलाई ठक्कर दिएको थियो।
दुर्घटनामा धामीको टाउकोमा चोट लागेको थियो। उनलाई सुरुमा अत्तरियास्थित पदमा अस्पताल लगिएकोमा थप उपचारका लागि धनगढीस्थित निसर्ग अस्पताल रिफर गरिएको थियो। दुर्घटनापछि मोटरसाइकल चालक दुवै फरार भएका थिए। चालक फेला नपरेपछि कात्तिक १२ गते पीडितका आफन्तले स्याउले बजारमा भेला भएर सडक अवरुद्ध गर्न खोजेका थिए। त्यसपछि प्रहरीले चालक र मोटरसाइकलको खोजी गर्ने सहमति गराउँदै आफन्तलाई सम्झाइबुझाइ गरेको थियो। प्रहरीले खोजतलासका क्रममा आज बैजालीमगरलाई काठमाडौंको स्वयम्भूबाट नियन्त्रणमा लिएको जनाएको छ। उनलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय मालाखेतीमा ल्याइएको प्रहरीले जनाएको छ।