२०८१ बैशाख २१ शुक्रबार Friday, May 03

ताजा अपडेट :

ट्रिप एडभाइजरले छानेका नेपालकाे १० उत्कृष्ट होटलमा पोखराको अतिथि रिसोर्ट एन्ड स्पा

image

पोखरा न्यूज – १५, माघ ।

पर्यटकले रोजेका नेपालका १० उत्कृष्ठ होटल मध्ये पोखराबाट सन् २०१९ मा एउटामात्र होटल पर्न सफल भएको छ ।

विश्वभर रहेका होटल तथा रेष्टुरेन्टको बारेमा समीक्षा गर्ने वेबसाइट ‘ट्रिप एडभाइजर डट कम’ले सन् २०१९ का लागि सार्वजनिक गरेको नेपालका १० उत्कृष्ट होटलहरुको सुचीमा पोखराबाट एकमात्र होटल – अतिथि रिसोर्ट एन्ड स्पा पर्न सफल भएको हो । सुचिमा वाकी ९ वटा होटल काठमाण्डौका परेका छन् । गत बर्ष अर्थात् सन् २०१८ मा पोखराबाट ५ वटा होटल सुचीमा परेका थिए ।

होटलमा बसेर सेवा लिएका पर्यटकहरुले गरेको समीक्षा ९रिभ्यु० का आधारमा सो ट्राभलर वेबसाइटले बिभिन्न शीर्षकमा उत्कृष्ट होटलको नाम सूचीकृत गर्दै आएको छ । पर्यटकहरुले गरेको समीक्षाका आधारमै तोकिएको ‘ट्राभलर च्वाइस अवार्ड २०१९’ को सूचीको सातौ स्थानमा पोखराको अतिथि रिसोर्ट एन्ड स्पा परेको हो । अतिथि रिसोर्ट एन्ड स्पा गत बर्षको सुचिमा नवौ स्थानमा रहेको थियो । गत बर्षको सुचिमा रहेका पोखराका ५ वटा होटल मध्ये अतिथि रिसोर्टले मात्र पोखराबाट सुचिमा निरन्तरता पाएको छ ।

सूचिको पहिलो स्थानमा काठमाण्डौको द्वारिका होटेल परेको छ जुन होटल गत बर्षको सुचिमा दोस्रो स्थानमा रहेको थियो । गत वर्ष चौथो स्थानमा रहेको काठमाण्डौको होटल टिबेट इन्टरनेशनल अहिले सूचीको दोस्रो स्थानमा परेको छ ।
त्यसैगरि गतबर्ष ट्रिप एडभाइजरको पाचौ स्थानमा रहेको होटेल मुनलाइट काठमाण्डौ यसबर्ष तेस्रो स्थानमा, छैटो नम्बरमा रहेको काठमाण्डौको गोकर्ण फरेष्ट रिसोर्ट यसबर्ष चौथो नम्बरमा आठौ नम्बरमा रहेको काठमाण्डौको साम्बाला यसबर्ष पाचौ नम्बरमा पर्न सफल भएका छन् ।

ट्रिप एडभाइजरको सन् २०१९ को  सुचिमा छैटो नम्बरमा काठमाण्डौको यात्री सुइट एण्ड स्पा , आठौंमा काठमाण्डौकै होटल शंकर, नवौ नम्बरमा क्लब हिमालयन नगरकोट र दशौ नम्बरमा काठमाण्डौको क्राउन प्लाजा परेका छन् ।

सन् २०१८ मा सुचिको पहिलो नम्बरमा पर्न सफल पोखराको देलिया बुटिक होटेल, तेस्रो नम्बरमा परेको पोखराको दा यात्रा होटल एण्ड रिसोर्ट, सातौमा परेको पोखराको ग्रान्डी तथा दशौ नम्बरमा परेको पोखराको माउण्ट कैलाश रिसोर्ट २०१९ को सुचिमा पर्न सकेनन्।

ट्रिप एडभाइजरले विश्वभरका होटललाई विभिन्न श्रेणीमा वर्गिकरण गरी उत्कृष्ट होमस्टे तथा गेष्ट हाउस, उत्कृष्ट बार्गेन होटल, उत्कृष्ट लक्जरीयस होटल, उत्कृष्ट रोमान्टिक होटल, उत्कृष्ट फेमिली होटल लगायत बिभिन्न शीर्षकमा ट्राभलर च्वाइस अवार्ड प्रदान गर्दै आएको छ ।

होटल छनौटको मार्गदर्शक मानिने ट्रिप एडभाइजरमा प्रकाशित रिभ्युका आधारमा पर्यटकहरुले होटल छनोट गर्ने गर्दछन । पर्यटन व्यवसायीले ट्रिप एडभाइजरलाई सफलता मापन गर्ने सुत्रको रुपमा परिभाषित समेत गर्ने गर्दछन ।