कपिलवस्तुकाे विजयनगर गाउँपालिका–३, जगदिशपुरस्थित भुवनेश्वरी माध्यमिक विद्यालयमा नवनिर्मित ४ कोठे पक्की भवनको उद्घाटन गरिएको छ। नयाँ भवन सञ्चालनमा आएपछि विद्यालयको भौतिक पूर्वाधार थप मजबुत बनेको छ । भने विद्यार्थीहरूले सुरक्षित र सहज वातावरणमा अध्ययन गर्ने अवसर पाएका छन् ।
उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले वर्षायामजस्ता चुनौतीपूर्ण समयमा समेत विद्यार्थीहरूलाई अब अध्ययनमा कुनै अवरोध नहुने विश्वास व्यक्त गरे। उनले गाउँपालिकाले सबै विद्यालयलाई समान रूपमा विकास गर्ने नीति अनुरूप काम गरिरहेको स्पष्ट पार्दै आगामी दिनमा थप पूर्वाधार विकासमा समेत निरन्तरता दिने प्रतिबद्धता जनाए। गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले शिक्षाको गुणस्तर सुधारका लागि भौतिक संरचनासँगै सकारात्मक शैक्षिक वातावरण आवश्यक रहने बताइन् ।
उनले सामुदायिक विद्यालयहरूको समग्र विकासका लागि स्थानीय तह, अभिभावक र सरोकारवालाबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गरिन्। विद्यालयका प्रधानाध्यापक टेकेन्द्र मिश्राले नयाँ भवनले विद्यालयको समग्र शैक्षिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्दै विद्यार्थीहरूको सिकाइ उपलब्धि अझ सुदृढ हुने अपेक्षा गरे। कार्यक्रममा समाजसेवी बालजी प्रसाद चौधरीले सबै विद्यालयलाई भेदभावरहित रूपमा विकास गर्दै गुणस्तरीय शिक्षा सुनिश्चित गर्नुपर्नेमा जोड दिए। उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षक, अभिभावक तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो। नयाँ भवनसँगै विद्यालयमा शैक्षिक वातावरण सुधार हुने विश्वास गरिएको छ ।