Saturday, August 15

Latest Update :

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेश, आजै सपथ ग्रहण गराइँदै

image

धनगढी , साउन २९ । सुदूरपश्चिम प्रदेशको नयाँ मुख्यमन्त्रीका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संसदीय दलका नेता खगराज भट्टले प्रदेश प्रमुख नजिर मियासमक्ष औपचारिक दाबी पेश गर्नुभएको छ। निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख मियाले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम बहुमतको सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गर्नुभएको थियो। सोही आह्वानअनुसार भट्टले सत्ता साझेदार नेकपा एमालेसहितका दलहरूको स्पष्ट बहुमत सांसदहरूको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी बुझाउनुभएको हो। प्रदेश प्रमुखको कार्यालय पुगेर दाबी पत्र बुझाउने क्रममा नेकपा एमाले सुदूरपश्चिम संसदीय दलका नेता राजेन्द्र सिंह रावल, एमालेका प्रमुख सचेतक चक्र मल्ल, नेकपाका नेता एवं कैलाली सह–इन्चार्ज रमेश धामी लगायत दुवै दलका शीर्ष नेता तथा प्रदेश सभा सदस्यहरूको उपस्थिति रहेको थियो।

दाबी पत्र बुझ्दै प्रदेश प्रमुख मियाले आवश्यक संवैधानिक प्रक्रिया पूरा गरी चाँडै नयाँ मुख्यमन्त्री नियुक्ति घोषणा गरिने जानकारी गराउनुभयो। प्रदेश प्रमुखको कार्यालयका अनुसार नवनियुक्त मुख्यमन्त्री भट्टलाई आजै दिउँसो ३ बजे पद तथा गोपनीयताको सपथ ग्रहण गराउने गरी आवश्यक तयारी पुरा गरिएको छ। सत्ता साझेदार दुई ठूला कम्युनिस्ट घटकहरू बीच नयाँ राजनीतिक सहमति अनुसार मन्त्रालयको भागबण्डा समेत टुंगिएको छ। जसअनुसार मुख्यमन्त्रीसहित चार वटा मन्त्रालय नेकपाले र तीन वटा मन्त्रालय नेकपा एमालेले लिने सहमति भएको छ। सपथ ग्रहण समारोहसँगै आजै सानो आकारको मन्त्रिपरिषद गठन हुने सम्भावना रहेको छ।

Latest Update