धनगढी उपमहानगरपालिका–५ तारानगरकी कविता पन्तका लागि शनिबारीय महिला उद्यम बजार केवल आफ्ना उत्पादन बिक्री गर्ने ठाउँ मात्रै बनेन, व्यवसाय विस्तार गर्ने महत्वपूर्ण माध्यम पनि बन्यो। तीन वर्षअघि उद्यम बजारमा स्टल राखेर अचार बिक्री गर्न थालेकी कविताले अहिले आफ्नै व्यवसाय स्थापना गरेर वार्षिक करिब १० लाख रुपैयाँको कारोबार गर्दै आएकी छन्।
कविताले यसअघि नै घरमै मासुका अचार बनाएर बिक्री गर्दै आएकी थिइन्। ग्राहकबाट अचारको स्वाद र गुणस्तरबारे सकारात्मक प्रतिक्रिया पाएपछि उनलाई व्यवसायलाई थप विस्तार गर्ने हौसला मिल्यो। धनगढी उपमहानगरपालिकाले शनिबारीय महिला उद्यम बजार सञ्चालन गरेपछि भने उनको व्यवसायले बजारीकरणको अवसर पायो।
प्राइभेट संस्थामा कार्यरत कविता उद्यम बजारबाट प्रेरित भएपछि नोकरी छोडेर पूर्णरूपमा अचार तथा खाद्य सामग्री उत्पादनमा लागिन्। उनले आफ्नो व्यवसायलाई ‘पोषिलो सुत्केरी मसाला तथा अचार उद्योग’ का नाममा दर्ता गरेकी छन्।
भान्सामा विभिन्न परिकार बनाउन रुचि राख्ने कविता अहिले विभिन्न प्रकारका अचार उत्पादन गर्छिन्। मासुका अचारसँगै मुला, तामा लगायतका अचार उनको उत्पादनमा छन्। बालबालिकाका लागि लिटो, लड्डु तथा सुत्केरी महिलाका लागि आवश्यक पोषणयुक्त मसाला पनि उनले उत्पादन गर्दै आएकी छन्। घरमै आवश्यक मेसिन जडान गरेर उनले अचार तथा अन्य खाद्य सामग्री उत्पादन गर्दै आएकी छन्। आफ्ना उत्पादनलाई सामाजिक सञ्जालमार्फत बजारीकरण गर्न पनि उनी आफैं सक्रिय छिन्। फेसबुक र टिकटकमा उत्पादनको प्रचार गर्दै आएकी कविताले ग्राहकको सहजताका लागि धनगढीमा निःशुल्क होम डेलिभरीको व्यवस्था गरेकी छन्।
उनका उत्पादन धनगढीमा मात्रै सीमित छैनन्। नेपालका विभिन्न ठाउँबाट माग आउने गरेको उनी बताउँछिन्। पसल तथा मार्टहरूमा समेत आफ्ना उत्पादन राखेर बिक्री वितरण गर्दै आएकी छन्। पछिल्लो समय उनका अचार तथा मसालाको माग विदेशबाट समेत आउन थालेको उनको भनाइ छ।
व्यवसाय विस्तारसँगै कविताले आफू मात्रै उद्यमी बनेकी छैनन्, अन्य केही महिलालाई समेत रोजगारी दिएकी छन्। श्रीमानले पनि व्यवसायमा सहयोग गर्दै आएका छन्। उत्पादन तथा बजारीकरणमा राम्रो सम्भावना देखेपछि उनले समय–समयमा अचार बनाउने तालिमसमेत दिँदै आएकी छन्।
उद्यम बजारले आफ्ना उत्पादनलाई ग्राहकसम्म पुर्याउन महत्वपूर्ण भूमिका खेलेको कविता बताउँछिन्। उत्पादन भए पनि बजारीकरणको समस्या झेलिरहेका महिला उद्यमीका लागि यस्ता बजार प्रभावकारी हुने उनको अनुभव छ।
अब भने उनी विभिन्न प्रकारका अचार उत्पादन गर्ने आत्मविश्वासमा पुगेकी छन्। महिलालाई स्वरोजगार बनाउन सरकारले व्यावसायिक तालिम, प्रविधि र अनुदानको व्यवस्था गर्नुपर्ने उनको माग छ। ‘घरमै सीमित उत्पादनलाई बजारसम्म पुर्याउने अवसर पाएपछि व्यवसायप्रतिको आत्मविश्वास बढेको’ कविता बताउँछिन्। शनिबारीय महिला उद्यम बजारले उनको व्यवसाय मात्र होइन, जीवनशैलीमै परिवर्तन ल्याएको उनको अनुभव छ।