२०८१ बैशाख २१ शुक्रबार Friday, May 03

ताजा अपडेट :

बटेश्वर गाउँपालिकाको तेस्रो हिउँदे अधिवेशनको उद्घाटन सत्र सम्पन्न

३४ करोडको पूरा बजेटको योजना ल्याइने
image

धनुषास्थित बटेश्वर गाउँपालिकाको तेस्रो हिउँदे अधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको छ । उद्घाटन कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठ प्रमुख अतिथीका रूपमा सहभागी थिए ।

तेस्रो हिउँदे अधिवेशनमा गत आर्थिक वर्षमा खर्च हुन नसकेको बजेटसहित ३४ करोडको पूरा बजेटको योजना ल्याइने बताइएको छ । उद्घाटनका क्रममा गाउँपालिकाको बजेट शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई मुख्य जोड दिँदै ल्याउन लागेको अध्यक्ष डम्बरबहादुर राउतले बताए । शुक्रबार गरिएको उद्घाटन सत्रको बन्दसत्र आउँदो सोमबार हुने भएको छ ।

बन्दसत्रबाट शीर्षकसहितको योजनाअनुसारको बजेट पारित भएपछि सार्वजानिक गरिने अध्यक्ष राउतले बताए । गाउँपालिकाभित्रका १६ वटा विद्यालयमा आउँदो ५ वर्षभित्र कम्प्युटर प्रणालीबाट शिक्षा दिने गरी योजना ल्याइएको अध्यक्ष राउतले जानकारी दिए ।

यस आर्थिक वर्षमै ७० देखि ८० प्रतिशतको हाराहारीमा बालमैत्री शिक्षा दिने गरिने कामको थालनी भएको छ । बटेश्वर गाउँपालिकामा आउँदो ५ वर्षभित्र ८० प्रतिशत जग्गामा सिँचाइ सेवा दिने गरी डिप बोरिङको व्यवस्थापन गरिनेछ भने सबै वडामा स्वास्थ्यसेवाको व्यवस्था गरिनुको साथै गाउँपालिकाको कार्यालय रहेको छेउमै १५ बेडको प्रसुति गृहको निमार्ण गरिने राउतले बताए ।

मन्त्री महासेठको संसदीय कोषबाट ३० लाख र गाउँपालिकाको ७० लाखको लगानीमा १५ बेडको प्रसुति गृहको शिलान्यास गरिएको छ ।

सडकसञ्जालमा जनकपुरधामसँग जोड्न महेन्द्र राजमार्गको मिथिला नगरपालिकाको जमुनिबासदेखि बटेश्वर शान्तिपूर हुदै जनकपुरधाम र बटेश्वर गाउँपालिका १ लवकुशबजारदेखि महोत्तरीको सितापुर हुँदै जलेश्वरजाने बाटोमा कालोपत्रे गरिने गरी संघिय सरकारको समन्वयमा कामको थालनी गर्ने बटेश्वर गाउँपालिकाको योजना रहेको अध्यक्ष राउतले बताए ।