२०८१ बैशाख १७ सोमबार Monday, April 29

ताजा अपडेट :

महोत्तरीमा चट्ययाङ पर्दा घर नष्ट

बिहानभरि परेको पानी थामिएपछि वस्तुभाउ फुकाउने र घाँसदाउराको जोहो गर्न परिवारका सबै निस्किएका बेला चट्याङ परेकाले मानवीय क्षति भने भएको छैन
image

महोत्तरी । जिल्लाको बर्दिवास नगरपालिका–११ को चनौटेमा एउटा घर चट्ययाङ पर्दा नष्ट भएको छ । सो बस्तीका अजय डिम्डोङको घर शनिबार दिउँसो परेको चट्याङले जलेर खरानी भएको हो ।

बिहानभरि परेको पानी थामिएपछि वस्तुभाउ फुकाउने र घाँसदाउराको जोहो गर्न परिवारका सबै निस्किएका बेला चट्याङ परेकाले मानवीय क्षति भने भएको छैन । दिउँसोतिर पानी थामिएकै बेला ठूलो आवाजमा परेको चट्याङले डिम्डोङको घर र घरमा रहेका अन्नपात, लत्ताकपडा र भाँडाकुँडासहितका सामान भने केही नबचेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।

बर्दिवासचोकबाट करीब ३० किलोमिटरको दूरीमा चुरे पहाडी काँठमा रहेको चनौटे बस्तीमा चट्ययाङ परेको हो । मोटरबाटो पनि राम्रो बनिनसकेको सो बस्तीमा भएको घटनाबारे बर्दिवासमा ढिलो जानकारी आउँदा प्रहरी टोली ढिलो गरी पुगेको थियो ।