२०८१ बैशाख २१ शुक्रबार Friday, May 03

ताजा अपडेट :

विद्याकी देवी सरस्वती पूजा महेन्द्रनगरसहित देशैभरि धुमधामसंग गरिदै

साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन

महेन्दरनगर,
प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी देवी सरस्वतीको  पूजा आराधना महेन्द्रनगरसहित देशैभरि धुमधामसंग गरिदै छ । 

 

  वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि हुने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लागेको थियो । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने धार्मिक विश्वास छ ।

 


चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हँसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् ।

 

विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् भने तान्त्रिकहरू तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा आराधना गर्छन् ।

 


सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ यस दिनलाई ‘वसन्त पञ्चमी’ पनि भन्ने गरिन्छ । गान्धर्व पुराणमा यस दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्व्सिद्धि प्राप्त हुन्छ भन्ने उल्लेख छ ।

 


आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने विश्वास छ । यस दिन बालबालिकालाई शिक्षारम्भका साथै नाक–कान छेडिदिने गरिन्छ ।

 

सरस्वती पूजाको अवसरमा महेन्द्रनगरको प्रगति शिशुसदन, दशर्निया रामेश्वर सिंह कुशवाहा एकेडमी, गंगोत्री बो.स्कुल, ओम एकेडमी, सरस्वती बो.स्कुल, जनजोती बो. स्कुल त्यस्तै दिगम्बरपुर स्थित रहेको जनकलली बो.स्कुल, मा.वि. दिगम्बरपुर लगायत शैक्षिक संस्थामा संस्कृति प्रोग्राम गर्दै धुमधामका साथ सरस्वती पूजा गरिदै छ ।