Saturday, October 03

Latest Update :

भरतपुर क्यान्सर अस्पतालको बोर्डमा पशु चिकित्सकको नियुक्ति, उठ्यो प्रश्न

image

चितवन ,१६ असोज

 नेपाल सरकारले भरतपुरमा रहेको बीपी कोइराला क्यान्सर अस्पतालमा सत्तारुढ रास्वपाका संगठित सदस्यसमेत रहेका पशु चिकित्सकलाई नियुक्ति दिएपछि विवाद उब्जेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट केही दिनअघि नियुक्ति पाएका पशु चिकित्सक डिल्लीराम भण्डारीले काम थालिसकेका छन् । भण्डारी रास्वपाको चितवनमा भएको प्रथम राष्ट्रिय महाधिवेशनमा प्रतिनिधि रहेका थिए । उनले नेपाल प्रेससँग कुरा गर्दै आफूले रास्वपाको सदस्यता लिएको र भरतपुरबाट महाधिवेशन प्रतिनिधि बनेका ४ जनामध्ये एक रहेको स्वीकार गरे ।

 

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल ऐन २०५३ अनुसार नेपाल सरकारले एक अध्यक्षसहित १४ जना सदस्यलाई सञ्चालक समितिमा नियुक्ति गर्ने व्यवस्था रहेको छ । जसमा भरतपुर महानगरपालिका (ऐनमा नगरपालिका उल्लेख), स्वास्थ्य र अर्थ मन्त्रालयका एक-एक तोकिएका प्रतिनिधिसहित विशेषज्ञ चिकित्सक, दुईजना सामाजिक क्षेत्रका वरिष्ठ व्यक्ति हुनुपर्ने व्यवस्था छ । सोही व्यवस्थालाई टेकेर आवेदन परेका १६ जना मध्येबाट मन्त्रालयले ६ जना सदस्य नियुक्त गरेको हो । पशु चिकित्सक भण्डारी र नारायणगढकी इशा प्रधान वरिष्ठ समाजसेवीको कोटाबाट सञ्चालक समिति सदस्यमा नियुक्त भएका हुन् । उनीहरुले यही असोज ६ गतेदेखि पदभार ग्रहण गरेका छन् ।

 

उनीहरू दुबैजना चितवनकै स्थानीय हुन् । पशु चिकित्सक भण्डारीसँगै वरिष्ठ समाजसेवीकै तर्फबाट नियुक्त भएकी इशा प्रधानको नियुक्ति सम्बन्धमा पनि सामाजिक सञ्जालमा प्रश्न उठेको छ । स्वास्थ्यमन्त्रीका सल्लाहकार डा। मनोहरलाल प्रधानकी आफन्त भएकोले उनलाई नातावादका आधारमा रोजिएको टिप्पणी भएको थियो । पदभार ग्रहण गरेपछि अस्पतालको वार्षिकोत्सव समारोहमा सञ्चालक समितिका तर्फबाट बोल्दै प्रधानले स्वास्थ्य मन्त्रीको सल्लाहकार आफ्नो टाढाको नातेदार पनि नभएको दाबी गरिन् । उनले आफू व्यवस्थापनमा स्नातकोत्तर भएकाले कर्मचारी प्रशासनमा दक्षता राख्ने, लियो लायन्स जस्ता सामाजिक संस्थामा काम गरेकाले सामाजिक क्षेत्रको अनुभव रहेको बताएकी थिइन् । पशु चिकित्सक भण्डारीले भने अहिलेसम्म सार्वजनिक रुपमा आफूमाथि उठेको प्रश्नको जवाफ दिएका छैनन् । उनले सञ्चालक समिति सदस्यमा नियुक्ति हुनुअघि कुनै राजनीतिक दलको सदस्य नभएको स्वघोषणा गरेका छन् । तर, रास्वपा चितवन स्रोतका अनुसार यही असोज पहिलो साता भएको महानगर स्तरीय प्रशिक्षण कार्यक्रममा पनि कार्यकर्ताको हिसाबले उनी सहभागी भएका थिए ।

 

भण्डारीले आफू रास्वपाको कुनै पनि कार्यकारी राजनीतिक भूमिकामा नरहेको बताए । आफ्नो पढाइ पशु चिकित्सकको भए पनि मानिसका शरीरमा कोशिकाहरुको विकाससँग सम्बन्धित स्टेन्थ सेल बायोलोजिष्ट पनि भएको उनको दावी छ । ‘क्यान्सरसँग सम्बन्धित नै विषयमा मैले काम गरेको हुँदा मेरो विज्ञताका आधारमा नियुक्त गरिएको हो । क्यान्सर अस्पतालका सूचना अधिकारी गृही नारायण महतो सञ्चालक समिति नियुक्तिमा अस्पताल प्रशासनको कुनै भूमिका नहुने बताउँछन् । ऐनले तोकेको विभिन्न क्षेत्र अन्तर्गत दुईजना सदस्य समाजसेवीको तर्फबाट नियुक्त भएको उनको भनाइ छ ।

Latest Update