धनगढी उपमहानगरपालिकाले बेरोजगार तथा सीपयुक्त महिलाहरूको आर्थिक सशक्तिकरण र आत्मनिर्भरताका लागि सञ्चालन गर्दै आएको शनिबारिय महिला उद्यम मेलाु आगामी असोज २४ गतेदेखि पुनः सुरु हुने भएको छ। दिदीबहिनीहरूको श्रमको सम्मान, आर्थिक सशक्तिकरणको अभियानू भन्ने मूल नाराका साथ सञ्चालन हुन लागेको यस मेलाको नयाँ संस्करणका लागि आवेदन फारम खुला भइसकेको धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला रानाले जानकारी दिनुभयो। विगतका वर्षहरू (२०८१ / २०८२)मा पनि सफलताका साथ आयोजना गरिएको यो मेला यसपटक (२०८३) अझ परिष्कृत र सहभागीको सङ्ख्या बढाएर सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ।
उपप्रमुख कन्दकला रानाले महिलाहरूलाई आर्थिक रूपमा सक्षम बनाउनु नै यस मेलाको मुख्य उद्देश्य रहेको बताउनुभयो। महिलाहरूले सीप सिक्ने र आफ्नै हातमा कमाइको पैसा हुने हो भने उनीहरूमाथि हुने घरेलु तथा सामाजिक हिंसा न्यूनीकरण गर्न ठूलो मद्दत पुग्ने र महिलाहरूको श्रमको कदर गर्दै उनीहरूलाई आत्मनिर्भर बनाउन स्थानीय सरकार लागिपरेको उहाँको भनाइ छ।
धनगढीको जेन्जी मार्गमा आयोजना हुने मेलामा व्यवस्थित रूपमा दुवैतर्फ स्टलहरू निर्माण गरिनेछन्। मेलाको एकातर्फ हातले बनाएका दोना, टपरी, ढकिया, आरणका सामग्री, माला, पोते, चुरा लगायतका मौलिक हस्तकलाका सामानहरू बिक्री-वितरणका लागि राखिनेछन् भने अर्कातर्फ नेपाली भान्सामा पाक्ने अर्गानिक परिकारहरू— सेलरोटी, समसा, ढिँक्री, कन्द्रा, बटुक लगायत तिहार विशेष तथा स्थानीय खाना र खाजाका परिकारहरू तयार गरी बिक्री गरिनेछ।
मेलामा सहभागी हुने महिला उद्यमीहरूले आफ्ना बालबच्चा र ज्येष्ठ नागरिक आमाबुबाहरूलाई समेत सहजै साथमा ल्याउन सक्ने व्यवस्था मिलाइएको छ। बालबालिकाका लागि 'प्ले स्टेसन'को व्यवस्था गरिएको छ भने उनीहरूको सुरक्षा र निगरानीका लागि नगर प्रहरी र अभिभावक स्वयं खटिनेछन्। यसैगरी, मेलामा प्रत्येक शनिबार भजन-कीर्तन, पौराणिक गीत तथा कथाहरूका साथै सांस्कृतिक नृत्य र झाँकीहरू समेत प्रस्तुत गरिने उपमहानगरपालिकाले जनाएको छ।
सहभागी महिलाहरूलाई प्रोत्साहन गर्न उपमहानगरपालिकाले मेलामा ट्यान्ट, स्टल दर्ता, कुर्सी तथा टेबल पूर्ण रूपमा निःशुल्क उपलब्ध गराउने भएको छ। महिलाहरूले आफ्ना परिवारजन र आवश्यक औषधोपचारसहित उपस्थित भई ढुक्कसँग व्यापार गर्न सक्नेछन्। उपप्रमुख रानाले यो सूचना घर-घरमा पुर्याइदिन आग्रह गर्दै धनगढीका सम्पूर्ण बेरोजगार तथा सीपयुक्त महिला दिदीबहिनीहरूलाई हप्ताको एक दिन (शनिबार) समय छुट्याएर यस अभियानमा सहभागी हुन र आत्मनिर्भरताको बाटोमा अघि बढ्न हार्दिक आह्वान गर्नुभएको छ।