धनगढी उपमहानगरपालिका–११ बेलास्थित दक्षिणकाली बहिरा आवासिय आधारभूत विद्यालय भौतिक पूर्वाधार, जनशक्ति र स्रोतसाधनको चरम अभावबिच सञ्चालन भइरहेको छ । स्थापनाको डेढ दशक बितिसक्दा पनि विद्यालयमा स्थायी शिक्षक दरबन्दी नहुँदा र कक्षा ८ भन्दा माथिल्लो तहको पढाइ नहुँदा यहाँ अध्ययनरत बहिरा बालबालिकाहरूको शैक्षिक भविष्य अन्योलग्रस्त बनेको छ ।
२०६७ सालमा स्थापना भई शैक्षिक सत्र २०७६ देखि पूर्ण रूपमा बहिरा बालबालिकाका लागि मात्र सञ्चालित यस विद्यालयमा हाल ८५ जना विद्यार्थी अध्ययनरत छन् । २ बिगाह १५ कठ्ठा क्षेत्रफलमा फैलिएको विद्यालयमा विद्यार्थीहरू टिनको छानामुनि बसेर अध्ययन गर्न बाध्य छन् । आवासीय सुविधासहितको विद्यालय भए पनि संरचनागत अभावका कारण विशेषगरी छात्राहरूलाई रातिको समयमा शौचालय (वाशरूम) जानसमेत ठूलो सास्ती हुने गरेको छ ।
विद्यालयमा अर्को मुख्य समस्या शिक्षक दरबन्दीको रहेको छ । हालसम्म कुनै पनि सरकारी शिक्षक दरबन्दी प्राप्त नभएको यस विद्यालयमा राहत, करार र निजी स्रोतका शिक्षकहरूले न्यून पारिश्रमिकमा अध्यापन गराइरहेका छन् । प्राथमिक तह (प्रावि) का शिक्षकहरूले नै कक्षा ८ सम्मका विद्यार्थीहरूलाई पढाउनुपर्ने बाध्यता छ ।
विद्यालयका प्रधानाध्यापक सीताराम चौधरीका अनुसार आधारभूत तह (कक्षा ८) उत्तीर्ण गरेपछि विद्यार्थीहरूका लागि सुदूरपश्चिम प्रदेशभरि नै माध्यमिक तहको अध्ययन गर्ने कुनै विकल्प छैन । कक्षा ८ पास भएपछि अगाडिको पढाइ निरन्तरता दिन विद्यार्थीहरू सुर्खेत वा जुम्ला धाउनुपर्ने बाध्यता रहेको छ । 'आन्तरिक स्रोत अत्यन्त न्यून छ, भवन र बहिरामैत्री शैक्षिक सामग्रीको अभावका बिच पनि हामीले पठनपाठन चलाइरहेका छौँ । तर कक्षा ८ पछिको शिक्षाका लागि विद्यार्थीलाई प्रदेशबाहिर पठाउनुपर्ने अवस्था अन्त्य हुन जरुरी छ,'प्र.अ. चौधरीले भने ।
यसैबिच, स्थानीय जनप्रतिनिधि र विद्यालय व्यवस्थापन समितिले विद्यालयको समस्या समाधानका लागि तत्परता देखाएका छन् । धनगढी उपमहानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष रविन्द्र कुँवरले विद्यालयको व्यवस्थापन, जनशक्ति थप तथा विद्यार्थी सङ्ख्या वृद्धि गर्दै विद्यालयलाई कक्षा १० सम्म स्तरोन्नति गर्नका लागि तीव्रताका साथ पहल भइरहेको बताएका छन् ।
'बहिरा बालबालिकाको अधिकार र उनीहरूलाई गुणस्तरीय शिक्षा दिनु हाम्रो दायित्व हो । विद्यालयमा देखिएका भौतिक तथा जनशक्तिका समस्या समाधान गर्दै यसलाई प्रदेशकै नमुना र कक्षा १० सम्म सञ्चालन हुने विद्यालयका रूपमा विकास गर्न सम्बद्ध निकायहरूसँग पहल गरिरहेका छौँ,'वडा अध्यक्ष कुँवरले बताए ।
प्रदेशभित्रका बहिरा तथा सुस्तश्रवण बालबालिकालाई एकीकृत गरी साङ्केतिक भाषाका माध्यमबाट निःशुल्क र आवासीय शिक्षा दिने लक्ष्य राखेको यस विद्यालयलाई दीर्घकालीन रूपमा माध्यमिक तह र प्राविधिक शिक्षातर्फ लैजान प्रदेश सरकार तथा संघिय सरकारको ध्यान जान आवश्यक छ ।