२०८१ बैशाख १४ शुक्रबार Friday, April 26

ताजा अपडेट :

चितवनबाट बाँके फर्कदै गरेको स्कारपियो र महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको बस दुर्घटना ।। 

६ जनाको मृत्यु, २ जना घाइते
image

शरद रेग्मी, दाङ । दाङको लमही नगरपालिका वडा नम्बर ९ रिहार नजिक स्कारपियो र बस एकापसमा ठोक्किदा ६ जनाको मृत्यु भएको छ । चितवन गितानगरबाट जन्ती ल्याई बाँकेको सम्शेरगञ्ज फर्कदै गरेको बा १२ च ३१२२ नम्बरको स्कारपियो र महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको ना ५ ख ४०९० नम्बरको बस ठोक्किएर दुर्घटना भएको हो । स्कारपियोमा सवार ८ जना मध्ये ६ जनाको मृत्यु भएको छ भने २ जना घाइतेको कोहलपुर उपचार भैरहेको छ । 


मृत्युु हुनेमा दुलाहाका बुवा, आमा र आफन्त रहेका छन् । दुलाहाका बुवा राप्ती सोनारी गाउँपालिका वडा नम्बर ८ निवासी ५३ वर्षीय मानबहादुर केसी, दुलाहाकी आमा ४५ वर्षीया विमला खत्री, ४९ वर्षीय विश्वनाथ अधिकारी, ५ वर्षीय प्रविण केसी, ३१ वर्षीय दिपक कुमार खड्का, कोहलपुर नगरपालिका १२ निवासी ७८ वर्षीय दत्त बहादुर खत्रीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय अमिलियाले जानकारी दिएको छ । 

 

दुर्घटनामा ४५ वर्षीय गितादेवी खत्री र चालक २१ वर्षीय यम बहादुर मगर घाइते भएका छन् । दुलही लिएर अर्काे स्कारपियोमा दुलहा थिए । बुवा, आमा र आफन्त चढेको स्कारपियो दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटना गएराति करीब २ बजे तिर भएको ईलाका प्रहरी कार्यालय अमिलियाले जानकारी दिएको छ ।