२०८१ बैशाख १८ मंगलबार Tuesday, April 30

ताजा अपडेट :

 बेलौरी महोत्सव २०७५ शुभकामना !!!

पूर्व प्राचार्य : केशव राज जोशी
image

सुदूरपश्चिम प्रदेश काली–कर्णाली बीचको मैदानी भाग, माल मदेश कैलाली कञ्चनपुरको पुरानो सदरमुकाम नेपाल देखि खेल मैदानका रुपमा प्रयोग र संरक्षण हुँदै आएको खुलामञ्चमा कार्तिक आठ देखि बेलौरी उद्योग बाणिज्य संघको आयोजनामा सञ्चालन हुने एघार दिने बेलौरी महोत्सवको पूर्णसफलताको लागि हजारौं कोष टाढा साउथ अष्ट्रेलिया प्रदेश एडिलेड महानगरी थ्री आर्हमकोटसल्सवरीडावन्सबाट शुभकामना हरपहरु कोर्न पाउँदा खुशी लागेको छ।

 


सन्ताउन्न बर्ष पहिलो २०१९ साल माघमा बेलौरी कै क्षितिजमा कालो वादल मडारियो । राजा महेन्द्रको चार महिने सवल शिकार इमलीया क्याम्पबाट शताब्दी लामो समय देखि राज्इबाट प्राप्त सिन्दूर सौभाग्य खोशीयो । एकाएक सदरमुकाम हटाउने आदेश आयो । वी.पी.कोइराला नेतृत्वको प्रथम जननिर्वाचति सरकारलाई उनै राजा महेन्द्रले एकवर्ष पहिलो सैनिक बलका आधारमा अपदस्थ गर्दा जेलनेल पर्नबाट बचेका निर्वासित वा भूमिगत नेता कार्यकर्ताको प्रभावले देशका विभिन्न ठाउँमा विद्रोहको घटना हुन थाले । २०१८ भदौं १४ गते राती बेलौरीमा पनि विद्रोह भयो । त्यही बेलौरी हो जहाँ २००९ सालमा भिमदत्त पन्त विद्रोहले उत्कर्षको रुप लिएको हो । यिनै राजनैतिक पृष्ठभूमिका कारण बेलौरीबाट सदरमुकाम हटाईएको हो । चालु दशक चोरी डकैतीको कारणबाट बेलौरीका लागि आतङ्कको दशक रह्यो ।

 


पुराना बासिन्दाको समन्वयात्मक सामाजिक सद्भावका प्रभावले देशका विभिन्न भागबाट र परवास समेतबाट बसाई सरेकाहरुको बसोबास सीमा ईलाकामा केही भूतपूर्व सैनिकहरुको बसोबास,  पुनर्वास कम्पनी मातहत गरिएको बसोबासका कारण यहाँको समाज मिश्रित र उर्जाशील,  बन्न पुग्यो । छोटै समयमा दर्जन बढी विद्यालयहरु खुले । दर्जन हाराहारीमा ससाना बजारहरु स्थापना भए । यही क्रममा २०२९ साल वसन्त पञ्चमी (सरस्वती पुजा) का दिन अपरान्ह तिर हाल बेलौरी बजार पार्क निर खुला चौरमा सञ्चालित तत्कालिन महाकाली नि.मा.वि. मा प्रसाद ग्रहणका लागि उपस्थित अभिभावक र गण्य मान्य व्यक्तित्वहरुको समूह भेलामा परिणत भएर बजार स्थापना गर्न तत्कालिन प्रधानपञ्च तौला रानाको नेतृत्वमा गठित नगर विकास समितिले २०३८ साल सम्म कार्यक्रम सञ्चालन ग¥यो । २०३८ देखि २०४७ एकदशक अवधिमा स्थानीय उद्योगपति, व्यापारी,  समाजसेवी तीनजना विशिष्ट व्यक्तित्वको क्रमिक नेतृत्वका समितिहरुले सरकारको संलग्नता विना पनि नगरविकासको कार्य अगाडि बढाउँदै लगे ।

 


२०४७ चैतमा कृष्ण प्रसाद भट्टराई नेतृत्वको अन्तरिम सरकारले बेलौरी नगर विकास समितिलाई कानूनी मान्यता दिएर नगर विकास समिति ऐन २०२४ अन्तरिम संशोधन २०४७ अनुसारको राज पत्राङ्कित नगर विकास समिति घोषणा गर्दा ऐतिहासिक उपलब्धी भएको हो । २०७१ सालमा सुशिल कोइराला नेतृत्वको सरकारबाट बेलौरी नगरपालिका घोषित हुनु २०७२ सालमा मालपोत र नापी कार्यालय स्थापना हुनाले सदरमुकाम पुनस्र्थापित भएको झल्को ल्यायो । संयोग नै मान्नु पर्छ सुशिल कोइराला उत्तर वाल्यावस्थाको पालनपोषण र शिक्षादिक्षा बेलौरीमा नै भएको थियो । पुष्प कमल दहाल नेतृत्वको सरकारले २०७३ सालमा बेलौरीलाई “नमुना शहर” बनाउने निर्णय गर्नु अर्को महत्वपूर्ण उपलब्धी हो ।

 


बेलौरी उद्योग वाणिज्य संघ द्वारा विधानको प्रस्तावना र उद्देश्यमा पारवहन सम्मको व्यापार सुविधाका लागि प्रस्तावित पूर्वपश्चिम रेलवे सितको पहुँच तथा भारतीय रेलवे सितको कनेक्टीभिटीलाई आत्मसात गरिनु बेलौरीको उज्ज्वल भविष्यको द्योतक मानिएको छ । राज्यको तर्फबाट उनान्सय बर्ष पहिले (सन्१९२०मा) वृटिस भारत सित शारदा नहर र वनवसा व्यारेज प्रोजेक्टका लागि जमिन सट्टाभर्ना सम्मको वैदेशिक सम्झौता कार्यान्वयन गर्ने जिम्मेवारी समेत वहन गरेको परिस्थितिले बेलौरीको अन्तर्राष्ट्रिय कुटनैतिक महत्व पनि पुष्टि गर्दछ।

 

 

बेलौरीको भौगोलिक सांस्कृतिक कृषि पर्यटकीय राजनैतिक कुटनैतक ऐतहिासिक प्रशासनिक महत्वका आधारमा वरिपरिका गाउँवस्ती र बजारसहितको नेपाल सरकारले निर्णय गरे अनुसार अत्याधुनिक नमुना शहर निर्माण गर्ने महान जिम्मेवारी बेलौरी नगरपालिका सुदूरपश्चिम प्रदेश सरकार संघीय सरकार बेलौरी उद्योग वाणिज्य संघ, यसक्षेत्रका सम्पूर्ण नेता कार्यकर्ता, उद्योगी व्यवसायी बुद्धिजिवी समाजसेवीको काँधमा आएको छ।

 


महोत्सवको भव्य तयारी भैरहेको बेला तयारीका केही झलक अनुमानका आधारमा सम्झी रहेछु, देखि रहेछु र लेखि रहेछु । महोत्सव स्थल चारै तिर सफासुग्घर राखिएको छ । उज्यालोका लागि विद्युत जडान गरिएको छ । सोलार विद्युतको व्यवस्थाले उज्यालोको विश्वसनियता बढेको छ । खुलामञ्चमा प्रवेश र निकासका लागि पूर्व तर्फ लक्ष्मी स्वीट पुन होटेल बीचमा पहिलो आकर्षक भव्य द्वार छ । मध्य भागमा वाणिज्य बैंक श्रेष्ठ फर्निचर हाउस बीचमा दोस्रो प्रवेश द्वार र अस्पताल चोक, चन्द मेडिकल पछाडि तेस्रो स्वागत द्वार बनेको छ । पश्चिम तिरको स्वागत द्वार देखि पूर्व तर्फको स्वागत द्वार सम्म स्वास्थ्य केन्द्रको पर्खाल र खेलमैदानको उत्तर बजार लाईनका  घरहरुको पछाडि बनेको सेफ्टी हल निकास सित जोडिएको ६१२ फिट लामो १६ फिट चौडा एङ्गलाकार आरसीसी सोल्जरले बाँधिएको मैदानको सतह देखि लगभग एकफिट अग्लो बनाएर इटा स्वेलिङ गरी निर्माण गरिएको आकर्षक बाटोले महोत्सवस्थल मात्र नभएर बेलौरी बजारकै सुन्दरता स्वच्छता र सुविधा बढएको छ । महोत्सव स्थल सामुन्ने बजार लाइनका घरहरुले गरेको सरसफाई र रङ्गरोगनले महोत्सवस्थललाई रमणीय बनाएको छ । एकलाख मानिसले अवलोकन गर्ने अनुमान गर्दा दैनिक नौ हजार भन्दा बढी मानिसले अवलोकन गर्ने सम्भावना हुन्छ । शौच सुविधाका लागि पायक पर्ने स्थानमा महिला पुरुषका लागि अलग अलग स्थानमा बनाइएका चार चार कम्पार्ट भएका चारवटा शौचालयले पनि महोत्सव व्यवस्थापनमा ठूलो सहयोग पुग्ने छ । पायक पर्ने ठाउँमा राखिएका सेफ्टी डष्टविनहरुले फोहोरमैला व्यवस्थापनमा पर्याप्त सुविधा पुर्याउँछ होला । 

 


महोत्सव सडक डिभिजन कार्यालय महेन्द्रनगरको अग्रसरतामा कलुवापुर–बेलौरी राजमार्गखण्डको मैनाहा देखि बेलौरी बजार भन्सार हुँदै नेपाल भारत सीमानासम्मको ६ किलोमिटर सडकलाई सर्वेनापीबाट कायम गरिएको नक्सानुसार अन्तर्राष्ट्रिय सीमा क्षेत्र जोड्ने महत्वपूर्ण सडकको चौडाई र गुणस्तर विषयमा राष्ट्रिय नीतिको कदर गर्दै प्रस्तावित नमुना शहर,  प्रस्तावित नाका भन्सार बेलौरीका लागि उपयुक्त हुने मापदण्डलाई ध्यानमा राखी बेलौरी महोत्सवको शुभ अवसर पारेर सडकका आङ्गिक अरु संरचना, खानेपानी, विद्युत, ढल निकास, वृक्षारोपण, पौडण्डी (फुटपाथ) हरिदपेटी आदि समेतको रुपरेखा तैयार पारी बीचको सुविधाजनक डवल लेन गर्ने कामका लागि सरोकारवाला निकाय धन्यवादका पात्र र बेलौरीवासी बधाईका पात्र बनेका छन् । महोत्सव आयोजक वर्गको समन्वयकारी भूमिका, सर्वपक्षीय सहयोग र समर्थनमा बेलौरी क्षेत्र भरी उत्साह उम्रग फैलियोस, दशैं दिपावली र छटको अवसरमा आयोजित बेलौरी महोत्सव सफल होस्, यही छ शरदकालिन हार्दिक शुभकामना !!!

 

(पंतिकार केशव राज जोशी, तत्कालीन महाकाली उच्च मा.वि. बेलौरीका पूर्व प्राचार्य हुन्।)