• Tuesday, September 08

कैलालीमा टेम्पो भिरबाट खसालिएको विवादित घटनाबारे वन निर्देशकको संयोजकत्वमा छानबिन समिति गठ

कैलालीको गोदावरी नगरपालिका–४, गाईमारे क्षेत्रमा वन अतिक्रमण हटाउने क्रममा टेम्पो भिरबाट खसालिएको घटनाबारे छानबिन गर्न समिति गठन गरिएको छ ।

Fm Radio Link

१ असार, धनगढी । कैलालीको गोदावरी नगरपालिका–४, गाईमारे क्षेत्रमा वन अतिक्रमण हटाउने क्रममा टेम्पो भिरबाट खसालिएको घटनाबारे छानबिन गर्न समिति गठन गरिएको छ ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेश वन निर्देशनालयका निर्देशक डा. हेमराज विष्टको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो ।

मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाका अनुसार मन्त्रीस्तरीय निर्णयअनुसार गठन गरिएको उक्त समितिलाई घटनाको वास्तविकता पत्ता लगाई सात दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ ।

समितिमा जिल्ला प्रशासन कार्यालय कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी, डिभिजन वन कार्यालय पहलमानपुरका वरिष्ठ डिभिजनल वन अधिकृत जनक पाध्या, यातायात व्यवस्था कार्यालय कैलालीका मेकानिकल इन्जिनियर धोजराज जोशी तथा वन तथा वातावरण मन्त्रालयका कानुन अधिकृत विजयराज ओझा सदस्य रहेका छन् ।

गत जेठ २९ गते वन अतिक्रमण हटाउने क्रममा वन कर्मचारीले टेम्पो भिरबाट खसालेको भिडियो सार्वजनिक भएपछि घटना विवादित बनेको थियो र यसले व्यापक चर्चा पाएको थियो । सो घटनापछि प्रदेश सरकारले छानबिन प्रक्रिया अघि बढाएको हो ।

सचिव कोइरालाले मन्त्रालयले घटनालाई गम्भीर रूपमा लिएको र छानबिनपछि दोषी देखिए कारबाही गरिने स्पष्ट पारेका छन् । यसैबीच, प्रहरीले घटनासँग सम्बन्धित सोधपुछका लागि १२ जना वन कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।

Give Your Thought

Latest Update