• Tuesday, September 08

प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिमा रुलिङ माग्दै सभामुखमाथि विपक्षीको दबाब

सभामुख अर्यालले निष्पक्ष भूमिका निर्वाह नगरेको आरोप, प्रधानमन्त्रीलाई बोली सच्याउनुपर्ने माग

Fm Radio Link

३ असार, काठमाडौं । सीमा विवादसम्बन्धी प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को अभिव्यक्तिका विषयमा सभामुख डोलप्रसाद अर्यालले रुलिङ नगरेको भन्दै विपक्षी दलहरूले उनको भूमिकामाथि पुनः प्रश्न उठाएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै विपक्षी सांसदहरूले आ–आफ्नो स्थानबाट उठेर विरोध जनाउँदै सभामुखले प्रधानमन्त्रीको अभिव्यक्तिबारे स्पष्ट रुलिङ गर्नुपर्ने माग दोहोर्‍याएका हुन् ।

गत जेठ १७ गते प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री बालेनले भारतले मात्र नभई नेपालले पनि विभिन्न स्थानमा भारतको भूमि अतिक्रमण गरेको टिप्पणी गरेका थिए । उक्त भनाइप्रति विपक्षी दलहरूले निरन्तर आपत्ति जनाउँदै आएका छन् ।

बैठकमा बोल्ने अवसर पाएका श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति सच्याउनुपर्ने बताए । उनले यस विषयमा सभामुखले आवश्यक रुलिङ गर्नुपर्ने मागसमेत गरे ।

नेपाली कम्युनिस्ट पार्टीका सांसद गोपाल शर्माले पनि प्रधानमन्त्रीको भनाइबारे सभामुखबाट स्पष्ट निर्देशन आउनुपर्ने धारणा राखे ।

नेपाली कांग्रेसका सांसद चन्द्रमोहन यादवले भने सभामुखको निष्पक्षतामाथि नै प्रश्न उठाए । उनले सभामुख अर्याल अझै पनि आफू आबद्ध रहेको पूर्व दलसँगको सम्बन्धबाट पूर्ण रूपमा अलग हुन नसकेको टिप्पणी गर्दै त्यसैले रुलिङ गर्न हिच्किचाइरहेको आशंका व्यक्त गरे ।

यादवले संसद्को गरिमा र विश्वसनीयता कायम राख्न पनि प्रधानमन्त्रीको विवादित अभिव्यक्तिबारे सभामुखले स्पष्ट धारणा राख्नुपर्ने आवश्यकता औंल्याए ।

Give Your Thought

Latest Update