• Tuesday, September 08

बक्यौता नतिर्ने ६३ उद्योगको पानी–बिजुली काटियो

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको कारबाहीपछि एकैदिन १० करोड रुपैयाँ असुली, ५५ उद्योग अझै सेवा विच्छेदको अवस्थामा

Fm Radio Link

४ असार, काठमाडौं । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले भाडा तथा विभिन्न शुल्कको बक्यौता नतिर्ने ६३ उद्योगको पानी र विद्युत् सेवा विच्छेद गरेको छ । लिमिटेडका अनुसार सरकारी जग्गा, भवन तथा पूर्वाधार लामो समयदेखि प्रयोग गरिरहेका उद्योगहरूले पटक–पटक ताकेता गर्दा पनि भुक्तानी नगरेपछि बुधबारदेखि कारबाही थालिएको हो ।

देशभरका १० वटा औद्योगिक क्षेत्रअन्तर्गत सञ्चालित उद्योगहरूले बक्यौता रकम तिर्न आनाकानी गरेपछि पानी र बिजुलीको लाइन काट्ने निर्णय गरिएको लिमिटेडले जनाएको छ ।कारबाही सुरु भएको पहिलो दिनमै बक्यौता उठाउने अभियानबाट करिब १० करोड रुपैयाँ असुली भएको बताइएको छ ।

सबैभन्दा बढी प्रभावित उद्योगहरू बालाजु औद्योगिक क्षेत्रमा रहेका छन्, जहाँ २४ उद्योगको सेवा विच्छेद गरिएको छ । त्यसपछि हेटौंडा औद्योगिक क्षेत्रका १३, पाटनका ७, पोखराका ५, बुटवलका ४ र भक्तपुरका ४ उद्योग कारबाहीमा परेका छन् । त्यसैगरी नेपालगञ्ज, धरान तथा गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रका केही उद्योगहरूको पनि पानी र विद्युत् आपूर्ति बन्द गरिएको छ ।

लाइन काटिएलगत्तै बक्यौता रकम बुझाउन आएका ८ उद्योगको सेवा भने पुनः सुचारु गरिएको लिमिटेडले जनाएको छ । भुक्तानी गरेपछि बालाजु, पाटन, पोखरा र नेपालगञ्जका केही उद्योगको विद्युत् आपूर्ति पुनः जडान गरिएको हो । हालसम्म ६३ उद्योगमध्ये ८ उद्योगले बक्यौता तिरेर सेवा पुनः प्राप्त गरेका छन् भने बाँकी ५५ उद्योगको पानी र विद्युत् सेवा अझै अवरुद्ध रहेको छ ।

लिमिटेडले बक्यौता नतिर्ने अन्य उद्योगविरुद्ध पनि कारबाही अभियानलाई निरन्तरता दिने जनाएको छ ।

Give Your Thought

Latest Update