श्रम संस्कृति पार्टीको विरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
हर्क साम्पाङलाई बोल्न नदिएपछि सांसदहरूको वेल घेराउ, सभामुखको आग्रह अस्वीकार
३ असार, काठमाडौं । श्रम संस्कृति पार्टीका सांसदहरूको अवरोधपछि प्रतिनिधिसभा बैठक बुधबार १५ मिनेटका लागि स्थगित गरिएको छ ।
बैठकमा विनियोजन विधेयकमाथिको मन्त्रालयगत छलफल चलिरहेका बेला सम्बन्धित मन्त्रीहरूले उठेका प्रश्नहरूको जवाफ दिइरहेका थिए । सोही क्रममा श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राई (हर्क साम्पाङ) ले मन्त्रीको जवाफपछि थप स्पष्टीकरण माग्न खोजेका थिए ।
तर सभामुख डोलप्रसाद अर्यालले उनलाई बोल्न अनुमति नदिएपछि श्रम संस्कृति पार्टीका सांसदहरूले विरोध जनाउँदै संसद्को वेल घेराउ गरेका थिए ।
अवरोध बढेपछि सभामुख अर्यालले सांसदहरूलाई संसदीय मर्यादा र आफ्नो कर्तव्यप्रति सचेत गराउँदै सभामुखको आदेश पालना गर्न आग्रह गरेका थिए ।
उनले पटक–पटक आ–आफ्नो स्थानमा फर्किन र बैठक सञ्चालनमा सहयोग गर्न अनुरोध गरे पनि विरोध जारी रहेपछि बैठक स्थगित गर्ने निर्णय गरेका हुन् ।
सभामुख अर्यालले बैठक सोही दिन १५ मिनेटका लागि स्थगित गरिएको जानकारी दिएका छन् ।

Give Your Thought5>