• Tuesday, September 08

भारतीय अवरोधपछि इलामका चिया उद्योग बन्द, निर्यात संकट गहिरियो

डेढ महिनादेखि चिया निकासी रोकिँदा उत्पादन गोदाममै थन्किन थालेपछि उद्योगीले उत्पादन बन्द, सरकारको कूटनीतिक पहलको माग

Fm Radio Link

१ असार, काठमाडौं । भारतीय पक्षले नेपाली चिया निकासीमा विभिन्न बहानामा अवरोध पुर्‍याएपछि सोमबारदेखि इलामका चिया उद्योगहरू बन्द भएका छन् । भारतले गुणस्तर परीक्षणको नाममा डेढ महिनादेखि नेपाली चिया निर्यातमा अड्चन सिर्जना गरेपछि उद्योगीहरूले बाध्य भएर उत्पादन रोक्ने निर्णय लिएको बताएका छन् । निकासी रोकिँदा उत्पादित चियाले बजार पाउन नसकेको र गोदाममै बिग्रने जोखिम बढेपछि यस्तो कदम चाल्नुपरेको व्यवसायीहरूको भनाइ छ ।

नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिवकुमार गुप्ताका अनुसार भारतीय चिया बोर्डले हालै लागू गरेको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ (एसओपी) का कारण नेपाली चिया निर्यात झन् जटिल बनेको हो । पहाडी क्षेत्रका अर्थोडक्स चिया उद्योगहरू सोमबारदेखि नै बन्द भएका छन् भने तराईका सीटीसी चिया उद्योगहरू ४ असारबाट बन्द हुने तयारीमा छन् । गुप्ताले भारतीय चिया बोर्डले आयातकर्तामाथि अनावश्यक झन्झट सिर्जना गरेको आरोप लगाउँदै अहिले कुनै पनि आयातकर्ता नेपाली चिया लिन तयार नरहेको बताए ।

उनका अनुसार भारतीय भन्सारमा चियाको नमुना परीक्षण गरी रिपोर्ट आउन १५ देखि २० दिन लाग्ने प्रक्रियाले व्यापार झन् जटिल बनाएको छ । रिपोर्टमा सामान्य कमजोरी देखिएसमेत चिया नष्ट हुने डरका कारण व्यापारीहरू पछि हटिरहेका छन् । “बजार नहुँदा उद्योग चलाउन सकिएन, त्यसैले बन्द गर्न बाध्य भयौं,” उनले भने । संघका अनुसार इलाममा वार्षिक करिब ६५ लाख किलो र झापामा करिब २ करोड किलो चिया उत्पादन हुन्छ, जसको करिब ९० प्रतिशत भारतमा निर्यात हुने गर्छ । सूर्योदय अर्थोडक्स टि प्रोड्युसर्स एसोसिएसन नेपालका अनुसार भारततर्फ पठाइएको करिब २ लाख किलो चिया भन्सारमै अड्किएको छ भने १० लाख किलोभन्दा बढी चिया उद्योगमै थन्किएर नष्ट हुने जोखिममा छ ।

उद्योगीहरूले सरकारको तर्फबाट निर्यात सहज बनाउन कुनै प्रभावकारी कूटनीतिक पहल नभएको गुनासो गरेका छन् । उद्योग बन्द भएसँगै पहाडका ५६ र तराईका ३० सीटीसी चिया उद्योग प्रभावित भएका छन् । यसले हजारौँ मजदुर र हरियो पत्ती बेच्ने किसान प्रत्यक्ष रूपमा मारमा परेको व्यवसायीहरूको भनाइ छ । दैनिक ज्यालादारीमा काम गर्ने श्रमिकहरू सबैभन्दा बढी प्रभावित भएको बताउँदै गुप्ताले चिया बिक्री नहुँदा किसान र मजदुरको भुक्तानीसमेत रोकिएको बताए ।

समस्या समाधानका लागि सरकारलाई जानकारी गराइएको र चाँडै कूटनीतिक पहल हुने आशा उद्योगीहरूले व्यक्त गरेका छन् ।

Give Your Thought

Latest Update