• Tuesday, September 08

चीनको आग्रह– नेपाली बजारमा चिनियाँ लगानीका लागि अनुकूल वातावरण बनाइयोस्

बेइजिङमा परराष्ट्रमन्त्री शिशिर खनालसँगको भेटमा चिनियाँ विदेशमन्त्री वाङ यीले लगानी र पूर्वाधार सहकार्य विस्तारमा जोड दिए

Fm Radio Link

२ असार, काठमाडौं । चीनले नेपालमा चिनियाँ कम्पनीहरूको लगानी विस्तारका लागि उपयुक्त र विश्वासिलो व्यावसायिक वातावरण सुनिश्चित गर्न नेपाल सरकारसँग आग्रह गरेको छ ।

बेइजिङमा सोमबार परराष्ट्रमन्त्री शिशिर खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भएको भेटवार्ताका क्रममा वाङले चीनले आफ्ना निजी तथा सरकारी कम्पनीहरूलाई नेपालमा लगानी गर्न प्रोत्साहित गर्ने बताउँदै नेपालले पनि लगानीमैत्री वातावरण निर्माण गर्नुपर्ने धारणा राखेका हुन् ।

चिनियाँ विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार वाङले नेपालमा निष्पक्ष, पारदर्शी र सहज व्यावसायिक वातावरणको अपेक्षा व्यक्त गरेका थिए । हाल नेपालमा चिनियाँ लगानी मुख्यतः जलविद्युत्, सडक, विमानस्थल, ऊर्जा तथा सिमेन्ट उद्योगजस्ता क्षेत्रमा केन्द्रित छ ।

भेटका क्रममा दुवै पक्षले अन्तर्राष्ट्रिय तथा बहुपक्षीय मञ्चहरूमा सहकार्यलाई अझ सुदृढ बनाउँदै विकासशील राष्ट्रहरूको साझा हितको संरक्षण गर्न आवश्यक रहेको विषयमा पनि सहमति जनाएका थिए ।

वाङले उच्च गुणस्तरको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बीआरआई) अन्तर्गत ऊर्जा प्रसारण लाइन, सडक सञ्जाल, सीमा नाका र हवाई पूर्वाधारलगायतका क्षेत्रमा सहकार्यलाई थप विस्तार गर्न चीन तयार रहेको बताएका थिए ।

नेपाल–चीन सम्बन्धबारे बोल्दै उनले “टाढाको नातेदारभन्दा नजिकको छिमेकी महत्वपूर्ण हुन्छ” भन्दै चीन नेपालका लागि विकास, समृद्धि र आधुनिकीकरण यात्राको भरपर्दो साझेदार रहने प्रतिबद्धता व्यक्त गरे ।

सन् २०१९ मा चिनियाँ राष्ट्रपति Xi Jinping को नेपाल भ्रमणका क्रममा दुई देशबीच विकास र समृद्धिमुखी दीर्घकालीन रणनीतिक सहकार्य साझेदारी स्थापना भएको स्मरण गर्दै वाङले त्यसले द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने आधार तयार गरेको बताए ।

चीन–नेपाल सम्बन्धले दुवै देशका जनता र राष्ट्रिय हितलाई लाभ पुर्‍याएको उल्लेख गर्दै उनले चीनले नेपालसँगको सम्बन्धलाई आफ्नो छिमेकी कूटनीतिको महत्वपूर्ण हिस्साका रूपमा हेर्ने र नेपाली जनताप्रतिको मैत्रीपूर्ण नीति निरन्तर कायम रहने बताएका छन् ।

Give Your Thought

Latest Update