• Tuesday, September 08

रास्वपाले चार हजारभन्दा बढी वडा र ६०९ पालिकाको अधिवेशन सम्पन्न गर्‍यो

१३ जिल्लामा अधिवेशन हुन बाँकी, मधेशमा प्रतिनिधि विवादले प्रक्रिया प्रभावित

Fm Radio Link

२ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभरका ६ हजार ७४३ वडामध्ये ४ हजार ३६३ वडामा अधिवेशन सम्पन्न गरेको जनाएको छ । साथै ७५३ स्थानीय तहमध्ये हालसम्म ६०९ पालिकामा पहिलो अधिवेशन सम्पन्न भई नयाँ नेतृत्व चयन भइसकेको पार्टीले जनाएको छ ।

रास्वपाका अनुसार हालसम्म १३ जिल्लामा अधिवेशन सम्पन्न हुन सकेको छैन । अधिवेशन हुन बाँकी जिल्लामा डोल्पा, हुम्ला, रुकुम पूर्व, मनाङ, मुस्ताङ, धनुषा, सप्तरी, बारा र सर्लाही रहेका छन् । त्यस्तै सिन्धुपाल्चोक, सिरहा, महोत्तरी र रौतहटमा अधिवेशन सुरु भए पनि विभिन्न कारणले रोकिएको छ ।

मधेश प्रदेशमा पर्साबाहेक अन्य जिल्लामा अधिवेशन हुन नसकेको रास्वपाले जनाएको छ । त्यहाँ प्रतिनिधि छनोटसम्बन्धी विवादका कारण अधिवेशन प्रक्रिया प्रभावित भएको बताइएको छ ।

कैलालीमा सम्पन्न भएको अधिवेशनलाई पार्टी केन्द्रले रद्द गरे पनि हाल सार्वजनिक गरिएको विवरणमा उक्त जिल्लालाई अधिवेशन बाँकी रहेका जिल्लाको सूचीमा समावेश गरिएको छैन ।

बागलुङमा अधिवेशनमार्फत नयाँ नेतृत्व चयन भए पनि त्यसविरुद्ध उजुरी परेपछि विवाद उत्पन्न भएको छ । यसअघि बागलुङलाई अधिवेशन सम्पन्न नभएको जिल्लाको सूचीमा राखिएको रास्वपाले पछिल्लो विवरणमा गण्डकी प्रदेशमा मनाङ र मुस्ताङ मात्र अधिवेशन हुन बाँकी रहेको जनाएको छ ।

हालसम्म कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा अधिवेशन सम्पन्न भई नयाँ प्रदेश समिति गठन भइसकेको छ ।

मधेश प्रदेशको अधिवेशन स्थगित गरिएको छ भने कर्णाली प्रदेशमा अधिवेशन प्रक्रिया तीन दिनदेखि जारी रहेको पार्टीले जनाएको छ ।

वडा, पालिका, जिल्ला तथा प्रदेश तहमा अधिवेशन सम्पन्न हुन नसकेका स्थानहरूको प्रक्रिया केन्द्रीय महाधिवेशनपछि अगाडि बढाइने रास्वपाको भनाइ छ ।

रास्वपाले आफ्नो पहिलो केन्द्रीय महाधिवेशन आगामी असार ७ देखि ९ गतेसम्म आयोजना गर्ने तयारी गरेको छ ।

Give Your Thought

Latest Update