२०८१ बैशाख १८ मंगलबार Tuesday, April 30

ताजा अपडेट :

भीमदत्तमा शिक्षाका समस्या अध्ययनका लागि समिति गठन

image

भीमदत्त नगरपालिकाले शैक्षिक क्षेत्रका समस्या अध्ययनका लागि समिति बनाएको छ । नगर शिक्षा समितिको बैठकबाट नगर शिक्षा समितिका सदस्य जीत बहादुर बमको संयोजकत्वमा समिति बनाएको हो ।
 


समितिलाई नगर क्षेत्रका विद्यालयहरुमा जनशक्ति र पूर्वाधारसंग सम्बन्धित समस्या अध्ययन गरी प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ ।
नगर शिक्षा समितिका संयोजक भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टको अध्यक्षतामा बसेको समितिको छैठौ बैठकमा समिति गठन गर्ने निर्णय गरिएको छ ।

 


नगर शिक्षा समितिका संयोजक नगर प्रमुख विष्टले अध्ययन प्रतिवेदनका आधारमा शैक्षिक क्षेत्र सुधारका लागि आवश्यक नीति तथा योजना बनाइने बताए ।
समितिमा भीमदत्त नगरपालिका नगर कार्यपालिका सदस्य द्रोपती जोशी, नगर शिक्षा समितिका सदस्य पदमा साउँद  र गंगा पन्त तथा भीनपा शिक्षा, युवा तथा खेलकूद शाखाका स्रोत व्यक्तिद्वय हरिराज विष्ट र भवानी प्रसाद पन्त  सदस्य छन् ।

 


भीनपा शिक्षा, युवा तथा खेलकूद शाखाका विद्यालय निरीक्षक ईश्वरी ठगुन्नाले समितिलाई नगर क्षेत्रका विद्यालयहरुका विभिन्न समस्या अध्ययन गरी प्रवितेदन पेश गर्ने जिम्मेवारी दिइएको बताइन् ।
‘शिक्षा क्षेत्रका विविध समस्या समाधानका लागि समिति गठन गरिएको छ, अर्को बैठकमा प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ’ विद्यालय निरीक्षक ठगुन्नाले भनिन् ।

 


भीमदत्त नगरपालिकामा ५५ सामुदायिक र ६५ संस्थागत विद्यालय छन् । शिवधाम क्षेत्रमा गुरुकुल विद्यालय सञ्चालनमा छ ।
यसैगरी चालु आर्थिक वर्षको शैक्षिक क्यालेण्डर बनाउन शिक्षा, युवा तथा खेलकूद शाखा प्रमुख उप सचिव पदमराज जोशीको संयोजकत्वमा समिति गठन गरिएको छ ।


समितिमा नगर शिक्षा समितिका सदस्य दिपक भट्ट, स्रोत व्यक्तिद्वय हरिराज विष्ट र भवानी प्रसाद पन्त सदस्य छन् ।
भीनपाको शिक्षा, युवा तथा खेलकूद शाखाले चालु आर्थिक वर्षको फागुनसम्म विभिन्न कार्यक्रम सम्पन्न गरेको छ ।

 


जैविक मार्ग म्याराथन मार्च, विद्यालयहरुसित भौतिक पूर्वाधार, आइसिटी, प्रयोगशाला निर्माणका लागि सम्झौता, विद्यालयहरुलाई अनुमति प्रदान, कक्षा ८ को परीक्षा सञ्चालन, विद्यालय अनुगमन लगायतका कार्यक्रम गरिएका छन् ।
आगामी वैशाखमा दोस्रो मेयर कप भलिबल प्रतियोगिता सञ्चालनका लागि तयारी सुरु गरिएको छ ।