२०८१ बैशाख २७ बिहीबार Thursday, May 09

ताजा अपडेट :

प्रधानमन्त्री कप महिला क्रिकेटको तयारी पूरा

उद्घाटन खेल सुदूरपश्चिम र गण्डकीबीच
image

महेन्द्रनगर,  कञ्चनपुरको महेन्द्रनगरमा हुने प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ। आठ वर्षपछि भोलि बुधबारदेखि सञ्चालन हुने राष्ट्रियस्तरको महिला प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जानकारी गराएका हुन्। राष्ट्रिय खेलकुद परिषद्को सहकार्यमा आयोजना हुने उक्त प्रतियोगिता सञ्चालनको सबै जिम्मेवारी स्थानीय खेलाडीलगायत महाकाली स्पोर्ट सोसाइटीले लिएको छ।  स्पोर्ट सोसाइटीले मंगलबार महेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गरी सोसाइटीका प्रमुख सुमन भट्टले प्रतियोगिताको तयारी पूरा भइसकेको जानकारी दिएका हुन्। उनका अनुसार प्रतियोगिताका सबै किसिमको प्राविधिक तयारी पूरा भइसकेको छ। आज बुधबार हुने उद्घाटन कार्यक्रमको तयारी भइरहेको पनि उनले जानकारी दिए। उद्घाटनको दिन भोलि घरेलु टोली सुदूरपश्चिम र गण्डकी प्रदेशबीच खेल हुनेछ। प्रतियोगितामा एउटा विभागीयसहित आठ टोलीको सहभागिता रहेको छ। करिब ८८ लाख अुनमानित लागत रहेको उक्त प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषद्ले ३५ लाख बजेट विनियोजन गरेको छ भने बाँकी बजेट आयोजकले स्पोन्सरबाट संकलन गर्नेछ । यस प्रतियोगिताको विजेतालाई ५ लाख र उपविजेतालाई ३ लाख नगद तथा ट्रफी प्रदान गरिने आयोजकले बताएका छन्।

 

महिला क्रिकेटरका लागि ठूलो प्लेटफर्म हो : पूर्वप्रशिक्षक टमटा

प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता महिला खेलाडीका लागि ठूलो अवसर (प्लेटफर्म) भएको नेपाली क्रिकेट टिमका पूर्वप्रशिक्षक जगत टमटाले बताए। उनले भने, ‘नेपाली महिला क्रिकेटमा ठूलो सम्भावना देखिएको छ। प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता पनि सम्भावना बोकेका नेपाली खेलाडीका लागि एउटा राम्रो अवसर हो।

यस प्रतियोगितामा खेलाडीले आफूलाई प्रमाणित गर्न सक्छन्।’ प्रतियोगिताको प्रमुखसमेत रहेका पूर्वप्रशिक्षक टमटाले प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता सञ्चालनका लागि ग्राउन्ड राम्रो रहेकाले खेलाडीलाई अनुकूल हुने उनको भनाइ छ।

 

सुदूरपश्चिम च्याम्पियन बन्छ : क्रिकेटर रावल

प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको च्याम्पियन बन्ने सुदूरपश्चिमका खेलाडीले दाबी गरेका छन्। अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा सहभागिता जनाइसकेकी सुदूरपश्चिम टोलीकी खेलाडी बिन्दु रावलले यो प्रतियोगितामा सुदूरपश्चिम टोली च्याम्पियन बन्नेमा आफू विश्वस्त रहेको दाबी गरिन्। उनले सुदूरपश्चिमको टिममा अनुभवी खेलाडी रहेको बताउँदै उनले महेन्द्रनगरमा लामो समयपछि राष्ट्रिय प्रतियोगिता हुन लागेकोमा खुशी व्यक्त गरिन्।

सुदूरपश्चिम गत फागुनमा भएको मुख्यमन्त्री कपको विजेता तथा आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा तेस्रो स्थान हासिल गर्न सफल भएकाले पनि यो टोलीलाई उपाधि दाबेदारका रूपमा हेरिएको छ। खेल हेर्नका लागि दर्शकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। मिराई इजुकेशन मुख्य प्रायोजक र एनसेल सपोर्ट प्रायोजक रहेको यो प्रतियोगिताको प्राइम टेलिभिजनले लाइभ प्रसारण गर्नेछ।