२०८१ जेठ २ बुधबार Wednesday, May 15

ताजा अपडेट :

अर्थमन्त्री खतिवडाद्वारा राजीनामा,दुबै मन्त्रालय प्रधानमन्त्रीको जिम्मा

image

काठमाडौं । अर्थ एवं सूचना प्रविधि तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिएका छन् । खतिवडाले शुक्रबार साँझ प्रधानमन्त्री केपी ओलीलाई राजीनामा बुझाएका हुन् । राष्ट्रियसभाको रिक्त एक पदमा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस गर्ने निर्णयमा सरकार पुगेको प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठकमा जानकारी गराएका थिए । तत्कालका लागि सांसद बन्ने बाटो बन्दै भएसँगै उनको मन्त्री पदसमेत शनिबारबाट स्वतः सकिदै थियो ।

प्रधानमन्त्री केपी ओलीले अहिलेसम्म सरकारमा बसेर काम गरेकोप्रति अर्थमन्त्री खतिवडालाई धन्यवाद दिएका छन् । राष्ट्रिय सभा सदस्यका लागि उनको कार्यकाल पूरा भएपछि पनि ६ महिना उनी मन्त्री भएका थिए ।

खतिवडा पहिलोपटक २०७४ साल चैत २ गते अर्थमन्त्री नियुक्त भएका थिए । राष्ट्रिय सभामा गोलाप्रथाबाट दुई वर्षे कार्यकाल निश्चित गरेका उनको पदावधि सकिएकै दिन २०७६ साल फागुन २० गते राजीनामा दिएपछि त्यसको भोलिपल्ट पुनः उनी दोस्रो कार्यकालका लागि अर्थमन्त्री नियुक्त भएका थिए ।

संविधान बमोजिम संघीय सांसद नभएको व्यक्ति ६ महिनामात्रै मन्त्री हुन पाउँछ । त्यसपछि संघीय संसदको सदस्य नियुक्त हुन नसकेको अवस्थामा स्वतः पदमुक्त हुने व्यवस्था छ । लामो रस्साकस्सीपछि पार्टीले उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभामा पठाउने भएपछि तत्कालका लागि डा. खतिवडाको यात्रा रोकिएको हो ।

यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा डा युवराज खतिवडाले सम्हाल्दै आएको अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभार प्रधानमन्त्री ओलीले सम्हाल्ने गरी तोकेकी छन् ।
मौजुदा मन्त्रिपरिषद्का सदस्य डा खतिवडाले नेपालको संविधानको धारा ७७ को उपधारा २ को खण्ड क बमोजिम आजै आफ्नो पदबाट राजीनामा दिको राष्ट्रपतिको कार्यालयले विज्ञप्ति जारी गरी जनाएको छ ।