२०८१ जेठ १ मंगलबार Tuesday, May 14

ताजा अपडेट :

बेसाहाराको सहारा बन्दै बाल सचेतना केन्द्र !

image

बाल सचेतना केन्द्र नेपालले कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउन अवधिभर उपत्यकाका बेसहारा तथा दैनिक ज्याला मजदुरी गरेर जिवीकोपार्जन गर्ने मजदुरलाई निःशुल्क खाना अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।

केन्द्रको बिहिबार बसेको बैठकले बौद्ध वडा नम्बर ६ मा रहेका बेसाहारा तथा लकडाउनबाट समस्यामा परेका  मजदुरको जीवनरक्षा गर्न अभियान सञ्चालन गर्ने निर्णय गरेको हो। संस्थाका अध्यक्ष बाबुराम फुँयालको संयोजकत्वमा संचालन गर्न लागिएको अभियानमा उप संयोजक रविन्द्र दहाल,सचिव बुद्धिमान लिम्बु, कोषाध्यक्ष शर्मिला उप्रेती, सदस्यहरु झलकराज उप्रेती, अञ्जना श्रेष्ठ, रमेश प्र. पुडासैनी, उर्मिला श्रेष्ठ, मायालु लामा,प्रवेश कार्की, कल्पना अर्याल, सरिता श्रेष्ठ, जगनाथ फुँयाल, अमृत कार्की, भिमा थापा, रिता के.सी, फुलमाया लामा, प्रतिमा राई, सुमन लामा, मुना अधिकारी, नारायण प्र.अधिकारी लगाएत संस्थाका सम्पूर्ण स्वयमसेवकहरुको सहयोग रहने छ । 

‘कोही भोको बस्नु पर्दैन, हामी कसैलाई भोको राख्दैनौ’ भन्ने उद्धेश्यले संचालन गर्न लागिएको अभियानले लकडाउनको अवधिभर बेसाहारा तथा दैनिक ज्यालामजदुरी गर्नेका परिवारहरु भौकै बस्ने अवस्था आउन नदिने केन्द्रले जनाएको छ । 

कोरोना संक्रमणको सन्त्रासले विश्व नै आक्रान्त भइरहेको र नेपालमा पनि कोरोना नियन्त्रणका लागि जारी लकडाउनका कारण सिर्जित अवस्थालाई मध्य नजर गर्दै संस्थाले निःशुल्क खाना खुवाउने अभियान सुरु गर्न लागिएको संयोजक फुँयालले बताए  । विपतको समयमा सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क खाना खुवाउन लागिएको उनको भनाई छ । 

झन्डै दुई वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओलीले  ‘अब कोही भोकै बस्नु पर्दैन, भोकै मर्नु पर्दैन, कसैलाई पनि भोकै मर्न दिइँदैन’ र राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को संयुक्त बैठकमा सरकारका तर्फबाट यस वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा उल्लेख गरेको ‘अब गरिबीका कारण कोही भोकै नमर्ने’ वाक्यांश फगत नारा मात्र बन्न पुगेका छन् ।  लकडाउनयता मात्रै सप्तरीका मलर सदा र कीर्तिपुरमा भारी बोक्दै आएका सूर्यबहादुर तामाङले भोककै कारण ज्यान गुमाएका घटना सार्वजनिक चर्चामै आए । 

त्यसैका कारण अबको दिनमा कोही पनि व्यक्तिले भोककै कारण ज्यान गुमाउन नपरोस् भन्ने उद्धेश्यले एक छाक खानाको पर्खाइमा रहेका सयौं मान्छेको भोको पेट भर्नका लागि अभियान संचालन गर्न लागिएको हो । 

उपत्यकामा मात्रै दैनिक ज्याला मजदुरी गरी जिवीकोपार्जन गर्नु पर्ने हजारौको संख्याका मजदुरहरु अहिले एक छाक टार्न धौधौको अवस्थावाट तड्पिरहेका छन् ।

यस अघि पनि संस्थाले सरकारले जारी गरेको लकडाउन यता विभिन्न दाताहरुबाट संकलित भएको २६ लाख रुपैयाले १७ सय भन्दाबढी घरपरिवारलाई खाद्यन्न सामाग्री वितरण गरेको थियो । 

साथै संस्थाले देश तथा विदेशमा रहेका सम्पूर्ण सहयोगी मनहरुलाई उक्त अभियानमा सहयोग गर्न समेत अनुरोध गरेको छ । 
सम्पर्कका लागि 

बाल सचेतना केन्द्र 
काठमाडौं ०६ , बौद्ध 
फोन नम्बर : ९८५११२२५१६,९८४३०७२८१६,९८४१८१५१६८

childawareness@yahoo.com

cacnepal2019@gmail.com