कपिलवस्तु, साउन १६ – शिवराज नगरपालिका–९, भगवानपुरस्थित मनकामना स्वावलम्बन बहुउद्देश्यीय सहकारी संस्थाको २५औँ रजत जयन्ती भव्य तथा उल्लासपूर्ण वातावरणमा सम्पन्न भएको छ।
संस्थाको आफ्नै भवनमा आयोजित कार्यक्रममा शिवराज नगरपालिकाका प्रमुख अजय थापा प्रमुख अतिथि तथा वडा नं. ९ का अध्यक्ष रामगोपाल थारु विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रम संस्थाकी अध्यक्ष रमिला सुवेदीको अध्यक्षतामा सम्पन्न भएको हो।
रजत महोत्सवको अवसरमा भगवानपुर, तुरुन्त्तपुर र गहिरा हुँदै संस्थाको भवनसम्म भव्य र्याली निकालिएको थियो। स्थानीय सदस्य, सहकारीकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सर्वसाधारणको उल्लेखनीय सहभागिताले र्यालीलाई उत्साहपूर्ण बनाएको थियो।
र्याली संस्थाको भवनमा पुगेपछि औपचारिक कार्यक्रम सुरु गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथि अजय थापाले सहकारीले स्थानीय स्तरमा आर्थिक, सामाजिक तथा स्वरोजगार प्रवर्द्धनमा पुर्याएको योगदानको उच्च प्रशंसा गर्दै आगामी दिनमा पनि यस्तै सेवामूलक कार्यलाई निरन्तरता दिन शुभकामना व्यक्त गर्नुभयो।
त्यसैगरी विशिष्ट अतिथि वडा अध्यक्ष रामगोपाल थारुले सहकारी संस्थाले समुदायको आर्थिक सशक्तीकरण, बचत तथा ऋण परिचालनमार्फत नागरिकको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै संस्थाको आगामी यात्रा अझ सफल रहोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो।
कार्यक्रममा विभिन्न अतिथिहरूले पनि सहकारीको २५ वर्षे सफल यात्राको समीक्षा गर्दै संस्थाले स्थानीय विकास र आर्थिक समृद्धिमा खेलेको भूमिकाको प्रशंसा गरेका थिए।
२५औँ रजत महोत्सवको अवसरमा आयोजित कार्यक्रम उत्साह, उमंग र सहकारीप्रतिको विश्वासका साथ सम्पन्न भएको आयोजकले जनाएको छ।