प्रथम वडाध्यक्ष कपमा दुई खेल सम्पन्न, वर्षाका कारण एक खेल स्थगित
प्रथम वडाध्यक्ष कपमा दुई खेल सम्पन्न, वर्षाका कारण एक खेल स्थगित
कपिलवस्तु कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ९ मा जारी प्रथम वडाध्यक्ष कप अन्तर्गत आज दुई खेल सम्पन्न भएका छन्। आज तीन खेल हुने तालिका रहे पनि भारी वर्षाका कारण अन्तिम खेल भने स्थगित भएको छ। आज भएको पहिलो खेलमा साबिक वडा नम्बर ७, तुरुन्तपुरले साबिक वडा नम्बर २लाई ७–० गोलको फराकिलो अन्तरले पराजित गर्दै विजयी भएको छ।
त्यस्तै, आजै सम्पन्न महिला फुटबलतर्फको खेलमा साबिक वडा नम्बर ७ र साबिक वडा नम्बर ४, बानियाभारबीच प्रतिस्पर्धा भएको थियो। निर्धारित समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल ०–० को बराबरीमा सकिएको थियो। त्यसपछि भएको पेनाल्टी सुटआउटमा साबिक वडा नम्बर ४, बानियाभार विजयी भएको हो।
यसैबीच, आजको अन्तिम खेल भने भारी वर्षाका कारण स्थगित भएको आयोजकले जनाएको छ। स्थगित खेल भोलि बिहान ११ बजे साबिक वडा नम्बर ९ र साबिक वडा नम्बर ३ बीच हुने तालिका रहेको छ। त्यसपछि दिउँसो १ बजे महिला फुटबलतर्फ साबिक वडा नम्बर ९ र साबिक वडा नम्बर ३ बीच प्रतिस्पर्धा हुनेछ। भोलिको अन्तिम खेल भने साबिक वडा नम्बर ४, बानियाभार र साबिक वडा न १ बीच हुने तय गरिएको छ।