तेस्रो बुद्ध शक्ति सितोरियो कराते प्रतियोगिता २०८३ भव्य रूपमा उद्घाटन
प्रतियोगिता २०८३ भव्य रूपमा उद्घाटन
कपिलवस्तु। कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–९, तुरुन्तपुरस्थित कभर्ड हलमा तेस्रो बुद्ध शक्ति सितोरियो कराते प्रतियोगिता २०८३ शनिबार एक औपचारिक कार्यक्रमका बीच भव्य रूपमा उद्घाटन गरिएको छ।
पूर्वमन्त्री तथा लुम्बिनी प्रदेशसभा सदस्य अर्जुनकुमार केसीको प्रमुख आतिथ्यतामा प्रतियोगिताको उद्घाटन गरिएको हो। ‘कराते खेलौँ, स्वस्थ रहौँ, राष्ट्रको लागि एकजुट होऔँ’ भन्ने नारासहित बुद्ध शक्ति कराते डोजोले प्रतियोगिता आयोजना गरेको हो।
प्रतियोगितामा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट २५० भन्दा बढी खेलाडीले सहभागिता जनाएका छन्। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रशिक्षकहरूको उपस्थितिमा सुरु भएको प्रतियोगिताले खेलाडीहरूको प्रतिभा उजागर गर्नुका साथै कराते खेलको विकास र विस्तारमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
खेलकुदमार्फत स्वस्थ समाज निर्माण गर्ने, युवाहरूलाई खेलप्रति आकर्षित गर्ने तथा राष्ट्रिय एकता र अनुशासनको भावना विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।
शनिबारदेखि सुरु भएको प्रतियोगिता आइतबार सम्पन्न हुनेछ। प्रतियोगितामा सहभागी खेलाडीहरूले विभिन्न विधामा प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगिताले स्थानीय तथा प्रदेशस्तरमा कराते खेलको प्रवर्द्धन गर्दै नयाँ प्रतिभालाई राष्ट्रिय स्तरसम्म पुग्ने अवसर प्रदान गर्ने विश्वास लिइएको छ।