Tuesday, October 20

Latest Update :

१७औँ शिवगढी कपको उपाधिका लागि आयोजक गोल्डेन स्टार र तुरुन्तपुर भिड्ने

आयोजक गोल्डेन स्टार र तुरुन्तपुर भिड्ने
image

कपिलवस्तु। कपिलवस्तुको शिवराज नगरपालिका–९, बानियाभारमा जारी १७औँ शिवगढी कप फुटबल प्रतियोगिताको उपाधिका लागि आयोजक गोल्डेन स्टार युवा क्लब र शिवगढी स्पोर्टिङ युवा क्लब, तुरुन्तपुरबीच प्रतिस्पर्धा हुने भएको छ।

“ऐतिहासिक किल्ला, धार्मिक क्षेत्र शिवगढीको प्रचारप्रसार तथा समग्र खेलकुद विकास हाम्रो चाहना” भन्ने नाराका साथ आयोजना हुँदै आएको प्रतियोगितालाई गोल्डेन स्टार युवा क्लबले विजयादशमीको अवसर पारेर लामो समयदेखि निरन्तरता दिँदै आएको छ।

प्रतियोगिताको पुरुषतर्फ आयोजक गोल्डेन स्टार युवा क्लबले कञ्चन डंगोरियालाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो। त्यसैगरी, शिवगढी स्पोर्टिङ युवा क्लब, तुरुन्तपुरले शिवगढी साइनिङ स्टार युवा क्लबलाई हराउँदै फाइनलमा आयोजकसँगको भेट पक्का गरेको हो।

त्यस्तै, महिलातर्फको उपाधिका लागि जय बुद्ध युवा क्लब र शिवगढी साइनिङ स्टार युवा क्लबबीच प्रतिस्पर्धा हुने भएको छ। दुवै टोली फाइनलमा उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रनेछन्।

आयोजकका अनुसार कार्तिक ३ गते दिउँसो १ बजेदेखि शिवगढी कपको फाइनल खेल सुरु हुनेछ। फाइनल खेलमा पुरुष तथा महिला दुवै विधाका प्रतिस्पर्धाले प्रतियोगिताको रौनक थप्ने अपेक्षा गरिएको छ।

स्थानीय खेलकुदको विकास, युवा प्रतिभाको पहिचान तथा ऐतिहासिक र धार्मिक महत्त्व बोकेको शिवगढी क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यले आयोजना हुँदै आएको शिवगढी कपले स्थानीय फुटबल प्रेमीमाझ विशेष महत्त्व राख्दै आएको छ।

Latest Update